कुनै देशको आशीर्वादले सरकार बनेको होइन, कसैले ढालेर ढल्दैन: प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी ओलीले यो सरकार कुनै देशको आशीर्वादले बनेको नभएकाले कसैले ढालेर नढल्ने भन्दै त्यस्तो कल्पना पनि नगर्न चेतावनी दिएका छन् । मंगलबार सरकारको नीति तथा कार्यक्रममा सांसदले उठाएको प्रश्नको जवाफ दिँदै ओलीले दुई तिहाइको सरकारलाई कसैले ढाल्ने सपना नदेख्न खुला चुनौती दिएका हुन् । जनताले चुनावमार्फत म्यान्डेट दिएर शक्तिशाली सरकार गठन गरेको बताए ।

‘जानै जानै लागेको थियो । फलानो देशका राजदूतले खेलेर बचाइदियो भन्ने खालका समाचार पनि आए, तर त्यस्तो होइन, यो जनताले बनाइदिएको सरकार हो,’ ओलीले भने । उनले राष्ट्रियता ठूलो वा सानो नहुने भन्दै दुई ठूला देशका बीचमा रहेको नेपालले कसैसँग जुध्न राष्ट्रवादको बाटो नअंगालेको बताए । ओलीले यो देशमा अब कुनै अधिनायकवाद नआउने स्पष्ट पारे ।

साथै ओलीले नेपालले आफ्नो भूमि एक इन्च पनि नछाड्ने बताएका छन् । नेपालको भूमि भारतले अतिक्रमण गरे पनि फिर्ता गराएरै छाड्ने प्रतिबद्धता जनाएका उनले नयाँ नक्सा संसदले पारित गरेको दिन मुलुकभर दीपावली हुने बताए ।