मन्त्रिपरिषद्बाट स्वीकृत नक्सा सार्वजनिक भएको छैन, गलत नक्सा प्रयोग नगरौंः मन्त्री अर्याल

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले अद्यावधिक गरिएको नक्सा सार्वजनिक नगर्दासम्म त्रुटिपूर्ण नक्सा प्रयोग नगर्न आग्रह गरेकी छिन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकबाट स्वीकृत भएको नक्सा सार्वजनिक नहुँदासम्म सामाजिक सञ्जालमा गलत नक्सा प्रयोग नगर्न मन्त्री अर्यालले आग्रह गरेकी हुन् । 

‘आदरणीय महानुभावहरू मन्त्रिपरिषद्को बैठकले लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितको नेपालको अद्यावधिक राजनीतिक र प्रशासनिक नक्सा स्वीकृत गरेसँगै नयाँ नक्सा सार्वजनिक गर्ने तयारीमा छौँ’, उनले फेसबुकमा स्टाटस लेख्दै भनेकी छिन्, ‘तसर्थ नक्सा सार्वजनिक नगर्दासम्म धैर्य रहेर सामाजिक सञ्जालमा त्रुटिपूर्ण नक्सा प्रयोग नगर्न विनम्र अनुरोध गर्दछु ।’ 

सोमबारको मन्त्रिपरिषदले भारतले मिचेको नेपाली भूभाग लिम्पियाधुरा कालापानी समेत समेटेर नयाँ नक्सा जारी गर्ने निर्णय पारित गरेको छ। नयाँ नक्सा जारी गर्ने प्रतिवद्धता सरकारले नीति तथा कार्यक्रममा लिएको थियो। नीति तथा कार्यक्रम पारित हुनुभन्दा एक दिनअघि सरकारले नक्सा प्रकाशनको निर्णय गरेको हो ।