भारतमा कोरोना संक्रमित एक लाख नाघे, ३ हजार १६३ को मृत्यु

भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या तीन हजार एक सय ६३ पुगेको छ । संक्रमितको संख्या भने एक लाख नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अुनसार अहिलेसम्म भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक लाख एक हजार एक सय ३९ पुगेको हो । ३९ हजार एक सय ७४ जना संक्रमित निको भएर घर फर्किएका छन् ।

पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसका चार हजार नौ सय ७० नयाँ संक्रमित फेला परेका छन् भने एक सय ३४ जनाको मृत्यु भएको छ । भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३५ हजार ५८ पुगेको छ । महाराष्ट्रमा अहिलेसम्म एक हजार दुई सय ४९ जनाको मृत्यु भइसकेको छ ।

गुजरातमा अहिलेसम्म ११ हजार सात सय ४५ संक्रमित पुगेका छन् । यो राज्यमा मृत्यु हुनेको संख्या पनि ६ सय ९४ पुगेको छ । त्यस्तै तमिलनाडुमा अहिलेसम्म ११ हजार सात सय ६० जनामा संक्रमण देखिँदा ८१ जनाको मृत्यु भएको छ । मध्य प्रदेशमा संक्रमितको संख्या पाँच हजार दुई सय ३६ पुगेको छ । यो राज्यमा दुई सय ५२ जनाको मृत्यु भइसकेको छ ।

भारतको पश्चिम बंगालमा दुई हजार आठ सय २५ संक्रमित पुगेका छन् भने मृत्यु हुनेको संख्या दुई सय ४४ पुगेको छ । उत्तर प्रदेशमा पनि संक्रमित संख्या चार हजार ६ सय पाँच पुगेको छ ।

उत्तर प्रदेशमा अहिलेसम्म कोरोना भाइरसबाट एक सय १८ जनाको मृत्यु भएको छ । बिहारमा एक हजार तीन सय ९१ संक्रमित पुग्दा नौ जनाको मृत्यु भइसकेको छ ।