कोरोनाका कारण गाउँ फर्किएकालाई गाउँमै बसुँबसुँ लाग्ने बनाउनुपर्छ : वरिष्ठ नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गाउँमा नै रोजगारी र आम्दानीको व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन् । नेपाल विद्यार्थी सङ्घ तनहुँले आयोजना गरेको अनलाइन प्रशिक्षण कार्यक्रमको आज समापन गर्दै वरिष्ठ नेता पौडेलले कोरोनाका कारण मानिस गाउँ फर्किएकाले अब उनीहरुलाई गाउँमा नै बसुँबसुँ बनाउनेतर्फ सरकारले सोच्नुपर्ने बेला आएको बताए ।

कोरोनाका कारण अहिले सबै मानिस गाउँको शरणमा आउनुपरेको चर्चा गर्दै वरिष्ठ नेता पौडेलले भने, “शहरमा रोजगारी खोज्न गएका मानिस गाउँमा आएका छन्, गाउँमा पुगेको जनशक्तिलाई अब गाउँमै बसुँबसुँ बनाउनुपर्छ । त्यसका लागि गाउँमा नै रोजगारीको अवसर सिर्जना गर्नुपर्ने बेला आएको छ ।”

वरिष्ठ नेता पौडेलले गाउँमा रोजगारीको अवस्था सिर्जना गर्नका लागि सङ्घ, प्रदेश र स्थानीय सरकार लाग्नुपर्नेमा सुझाव दिए। उनले भने, “हिजोसम्म गाउँ रित्तो थियो, आज गाउँ हराभरा भएको छ, गाउँमा रोजगारीको अवस्था सिर्जना हुनसके कोही पनि शहर जाँदैनन् ।”

समृद्धिको आधार कृषि, पर्यटन र जलस्रोत रहेको चर्चा गर्दै वरिष्ठ नेता पौडेलले कृषिमा व्यावसायिक क्रान्ति अहिलेको आवश्यकता रहेकामा जोड दिए । “बन्दाबन्दीको अवस्थाले उत्पादन घट्नसक्ने भएकाले कृषिमा आत्मनिर्भर बनाउनेतर्फ सरकारले योजना बनाएर कृषिमा लगानी बढाउनुपर्छ”, वरिष्ठ नेता पौडेलले भने, “अहिले सङ्कटले थला परे पनि भविष्यमा खाद्य अभावले ज्यान जानसक्ने अवस्था आउन सक्छ ।”

विदेशमा गएका नेपालीको रोजगारी गुमेकाले विप्रेषण रोकिने अवस्था आएकाले नेपालभित्रै भएका सम्भावनाको सदुपयोग गर्दै सङ्कट व्यवस्थापन गर्ने चुनौती रहेको वरिष्ठ नेता पौडेलको भनाइ थियो । कृषिलाई औद्योगिकीकरण गर्नेतर्फ स्थानीय तहले कृषिमा लगानी बढाउनुपर्ने बताउँदै वरिष्ठ नेता पौडेलले भने, “अहिलेसम्म कृषि पेशा अपहेलित छ, कृषिलाई सम्मानित पेशा बनाउनुपर्छ ।” विश्वका विकसित देशमा अहिले महामारी रहेकाले कोरोनाले विश्व व्यवस्थालाई नै झड्का दिएको वरिष्ठ नेता पौडेलको भनाइ थियो ।

छुटाउनुभयो कि ?