भारतमा कोभिड १९ बाट मृत्यु हुने व्यक्तिको संख्या ३ हजार २९ जना पुगेको छ । भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार भारतमा अहिलेसम्म तीन हजार २९ जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ । भारतमा आइतबार एकै दिनमा १५७ कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ ।
गत २४ घण्टामा भारतमा ५ हजार २४२ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । यसैसँगै भारतमा सोमबारसम्म कोभिड–१९ संक्रमितको संख्या ९६ हजार १९६ जना पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
भारतमा सोमबार बिहानसम्मको तथ्याङ्कअनुसार हाल यो रोगका ५९ हजार ३४५ जना संक्रमितहरु अस्पतालमा उपचार गराइरहेका छन् । कोभिड–१९ बाट सबैभन्दा बढी भारतको महाराष्ट्र राज्यमा नागरिक संक्रमित भएका छन् । यहाँमात्र ३३ हजार ५३ नागरिक कोरोना भाइरस संक्रमित रहेका छन् ।
कोरोनाको संक्रमणबाट महाराष्ट्रमा १ हजार १९८ जनाको मृत्यु भएको छ । महाराष्ट्रपछि गुजरात दोस्रो स्थानमा रहेको छ । त्यहाँ ११ हजार ३७९ जनामा कोरोना भाइरसको संक्रमण रहेका छन् । गुजरातपछि तमिलनाडूमा ११ हजार २२४ संक्रमति रहेका छन् । दिल्लीमा कोरोना भाइरसको संक्रमणको संख्या १० हजार ५४ पुगेको छ ।