वामदेवको संसद् यात्रा : नेपाली राजनीतिमा सबैभन्दा धेरैपटक प्रदर्शन भएको फ्लप नाटक

वामदेवको संसद् यात्रा : नेपाली राजनीतिमा सबैभन्दा धेरैपटक प्रदर्शन भएको फ्लप नाटक

गत संसदीय निर्वाचनमा जनमतबाट पराजित वामदेव गौतम संसद् छिर्ने विषय नेपाली राजनीतिमा सबैभन्दा धेरैपटक दोहोरिएको ‘नाटक’ हो, तर नाटकमा नयाँनयाँ शृंखला आउने क्रम रोकिएको छैन।

नेकपा उपाध्यक्ष गौतमलाई प्रतिनिधिसभाको कुनै निर्वाचन क्षेत्रबाट चुनाव लडाउने वा राष्ट्रिय सभामा सदस्य पनि प्रधानमन्त्री बन्ने गरी संशोधन गरेर प्रधानमन्त्री बनाउने ओलीको प्रस्ताव छ।

तर, गौतम संसद् सदस्य बन्ने विषयका नयाँ–नयाँ आयाम पटक–पटक दुर्घटनामा पर्दै आएका खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

संसदीय निर्वाचनमा आफ्नै गृहजिल्ला बर्दियाबाट पराजित गौतमले विपक्षीलाई होइन, पार्टी अध्यक्ष ओली र उनको समूहलाई दोष दिएका थिए । बर्दियाका पार्टी नेता श्याम ढकाललाई कारबाही गराउन उनले प्रयास पनि गरेका थिए । तर, ढकाललाई कारबाही गर्न ओलीले नमानेपछि गौतम आक्रोशित भएका थिए ।

त्यहीबीचमा सांसद धनबहादुर बुढालाई राजीनामा दिन लगाएर डोल्पाबाट चुनाव लड्न गौतमले निकै कोसिस गरेका थिए । गौतमकै पहलमा पर्यटन राज्यमन्त्री भएका बुढाले राजीनामा दिने वचन पनि दिएका थिए।

तर, जनता सम्झाएर आउँछु भन्दै डोल्पा गएका बुढा जनताले मान्दै मानेनन् भन्ने सन्देश बोकेर आएपछि गौतम आश्चर्यचकित भएका थिए।

पछि दैलेख, बाँके र नवलपरासीका सांसदलाई राजीनामा गर्न लगाई चुनाव लड्ने तयारी गौतमले गरेका थिए । तर, उनीहरूले राजीनामा दिएनन् । बरु, काठमाडौं–७ का रामवीर मानन्धरले भने गौतमलाई आफ्नो क्षेत्रमा स्वागत गर्दै सांसद पदबाट राजीनामा दिएका थिए ।

तर, प्रधानन्त्री ओलीलाई समेत थाहा नदिई राजीनामा आएको भन्दै ओली रिसाए । त्यति मात्र होइन, जननिर्वाचित सांसदलाई राजीनामा दिन लगाएर संसद् छिर्न खोजेको भन्दै गौतमको सार्वजनिक आलोचना भएको थियो । काठमाडौं–७ का पार्टी नेताहरूले नै उपनिर्वाचन भए जिताउन गाह्रो हुने सन्देश दिएपछि गौतम पछि हटेका थिए ।

प्रतिनिधिसभाबाट संसद् छिर्ने बाटो विकट हुँदै गएपछि गौतमले राष्ट्रिय सभाको बाटो छाम्न थालेका थिए । राष्ट्रिय सभाका १८ सिटका लागि भएको निर्वाचनमा गौतमलाई उम्मेदवार बन्न स्वयं प्रधानमन्त्री ओलीले पनि आग्रह गरेका थिए । तर, उनी उम्मेदवार बनेनन् ।

सोही निर्वाचनमा नारायणकाजी श्रेष्ठ राष्ट्रिय सभामा निर्वाचित पनि भए । तर, ‘राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री हुन पाउने गरी संविधान संशोधन गर्नुपर्ने’ अडान गौतमले राख्दा ओलीले अस्वीकार गरेका थिए।

जे होस्, गौतमका लागि संसद् यस्तो यात्रा भएको छ जहाँबाट गन्तव्य नजिकै देखिन्छ, तर मोडैमोडले यात्रा बरालिएको छ । गौतमले आफूलाई संसद्को यस्तो यात्रीका रूपमा उभ्याएका छन् जसले हार खान सक्छ, तर हरेस खान तयार छैन।