देउवाको घरमा पैसाको सुरुङ भेटिएको कुरा भ्रामकः सचिवालय

देउवाको घरमा पैसाको सुरुङ भेटिएको कुरा भ्रामकः सचिवालय

काठमाडौं। नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित घरमा पैसा भेटिएको कुरालाई उनको निजी सचिवालयले खण्डन गरेको छ।

भदौ २४ गते भएको प्रदर्शनका क्रममा घरबाट पैसैपैसा भेटिएको तथा पैसाको सुरूङ जस्ता कपोकल्पित समाचारप्रति सचिवालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

देउवाका स्वकीय सचिव भानु देउवाले वक्तव्य जारी गर्दै पार्टी र पार्टी नेतृत्वलाई बदनाम गर्ने उद्देश्यले भ्रम फैल्याइएको बताएका छन्।

सामाजिक सञ्जालमा देखाइएका दृष्यहरू कपोकल्पित, अतिरञ्जित र भ्रामकका साथै दूषित मनासयले बदनाम गर्ने उदेश्यले फैलाइएका भ्रामक समाचार भएको विज्ञप्तिमा उल्लेख छ।

त्यस्ता बदनाम गराउने उदेश्यले विषेशगरी सामाजिक सञ्जालमा फैलाइएका हल्लामा कुनै सत्यता नभएको र विभिन्न सामाजिक सञ्जालमा घरभित्र रहेको ‘अण्डर ग्राउण्ड’ ट्यांकीलाई विभिन्न अनुमान गरेर प्रचारप्रसार गरेको देखिएकाले उक्त पानी ट्यांकी रहेको विज्ञप्तिमा स्पष्ट पारिएको छ।

जनमानसमा अपमानित गर्ने मनासयले प्रविधिको गलत प्रयोगबाट विभिन्न ठाउँमा विभिन्न समयका जलेका नोटका दृष्यहरू जोडेर सम्पादित फोटो र भिडियोहरू युट्युब तथा सामाजिक सञ्जालमा सम्प्रेषण गरिएको पाइएको भन्दै त्यसमा कुनै सत्यता नभएको विज्ञप्तिमा उल्लेख छ।