प्रचण्डको उद्घोष : विदेशी शक्तिहरूले नेपाललाई खेल मैदान बनाउने खतराका विरुद्ध उभिनैपर्छ

प्रचण्डको उद्घोष : विदेशी शक्तिहरूले नेपाललाई खेल मैदान बनाउने खतराका विरुद्ध उभिनैपर्छ

काठमाडौं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले देश निकै ठूलो संकटमा रहेको औंल्याएका छन् । संविधान दिवसको अवसरमा आज पार्टी कार्यालयमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै दाहालले अहिले राष्ट्रिय भावनासहित राष्ट्रिय आन्दोलन निर्माण गर्न सक्नुपर्ने आवश्यकता पनि औंल्याए । उनले सही विचार गर्न नसकिए देश दुर्घटनामा पर्नसक्ने खतरा पनि देखाएका छन् ।

उनले भने फागुन २१ गते गर्ने भनिएको चुनाव सजिलो नभएको पनि टिप्पणी गरे ।उनले भने,‘सजिलो छैन निर्वाचन । मानिसहरूलाई विश्वास भई पनि राख्या छैन । कहिलेकाहीँ त प्रधानमन्त्री स्वयम् बाहिर बोल्दा पनि के हो भन्या जस्तो आयो । तर हामी भन्छौँ, सबै जेनजी विद्रोहीदेखि आम नेपाली जनता र राजनीतिक शक्तिहरू एकजुट हुने हो भने निर्वाचन सम्भव छ । त्यसकारण म आज ११औँ संविधान दिवसको उपलक्ष्यमा ती तमाम देशभक्त नेपालीहरू, सबै बुद्धिजीवी, नागरिक समाज र राजनीतिक शक्तिहरूलाई अपिल गर्न चाहन्छु । यो इतिहासको गौरवशाली जगमा, क्रान्तिको इतिहासको गौरवशाली जगमा उभिएर फेरि राष्ट्रिय विचार, राष्ट्रिय शक्ति, राष्ट्रिय आन्दोलन निर्माण गरेर विदेशी शक्तिहरूले नेपाललाई फेरि एउटा खेल मैदान बनाउने खतराका विरुद्ध हामी उभिनै पर्छ, हामी अगाडि बढ्नै पर्छ, यसको कुनै विकल्प छैन भन्ने म ठान्छु ।’

सो क्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेललाई धन्यवाद दिए । जसको कारण संविधान बचेको उनको तर्क छ । उनले थपे,‘तत्कालको दृष्टिकोणले जसरी हामीले अन्तरिम सरकार बनाएर चाहिँ निर्वाचनतिर जाने यद्यपि हामी चाहन्थ्यौँ यो अन्तरिम सरकार संसद्बाट अनुमोदित होस् । हामी चाहन्थ्यौँ संसद्ले नै निर्वाचनको मिति घोषणा गर्ने वातावरण बनोस् । हामी त्यो चाहन्थ्यौँ, तर हामीले चाहेर त्यो हुने स्थिति देखा परेन । त्यसकारण कम्तीमा पनि राष्ट्रपतिज्यूले त्यहाँ निर पनि विवेक पुरÞ्याउन बल गर्नुभएको मैले प्रत्यक्ष महसुस गरेको छु, त्यो हो पुरानो प्रधानमन्त्रीको सिफारिसमा अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गर्ने, नवनियुक्त प्रधानमन्त्रीको सिफारिसमा संसद् विघटन गर्ने । यो प्रक्रियामा कहीँ न कहीँ संविधान बचाउने संविधानको ऐतिहासिकतालाई आत्मसात् गर्ने भावना अन्तर्निहित रहेको कुरा मैले नजिकबाट देखेको छु ।’

दाहालले घोषित मितिमै निर्वाचन हुनुपर्ने र निर्वाचनमार्फत नै देशले निकास प्राप्त गरोस भन्ने चाहना राखेका छन् । उनले जेन–जी आन्दोलनका विद्रोहीहरुको भावनाअनुसार प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति बनाउने बाटो संवैधानिक ढंगले नै हुनुपर्नेमा जोड दिएका छन् । उनले अघि भने,‘त्यसकारण हामी अब कुनै दुविधामा, भ्रममा नपरीकन यो निर्वाचन सम्पन्न गर्नको लागि आआफ्नो ठाउँबाट योगदान गर्नुपर्ने ठाउँमा आइपुगेका छौँ ।’

म फेरि पनि यो ऐतिहासिक दिनमा, यो ऐतिहासिक जिम्मेवारीप्रति सबैसँग अपिल गर्दै र ती महान् शहीद, बेपत्ता योद्धा, घाइते, अपाङ्ग, सबै र अहिले पछिल्लो जेनजी विद्रोहका शहीद र घाइतेहरूप्रति पनि त्यही सम्मान प्रकट गर्दै कम्तीमा पनि इतिहासको, वर्तमानको पनि समीक्षा गरेर हेर्न र माओवादी केन्द्र बिचमा थुप्रै कमीकमजोरी भएका पनि छन् भनेर आत्मसमीक्षा गरेको कुरा मैले गरेँ । यति गर्दा गर्दा पनि म के भन्न चाहन्छु भने माओवादी केन्द्र फरक चीज हो ।

यो फरक चीज हो, यो फरक धातुले बनेका मान्छेहरूको पार्टी हो । अरू जस्तै हो भनेर जो भाष्य साम्राज्यवादी र प्रतिक्रियावादीले बनाउन खोजेका छन्, त्यो होइन । त्यो होइन भन्ने कुरा हामी सबैले उद्घोष गर्न सक्नुपर्दछ । बाँकी के गरी सम्बोधन गर्ने जनता भावनालाई भन्ने कुरा नेतृत्व तपाईँ हामीलाई थाहा छ, निरन्तरतामा क्रमभङ्ग भन्ने गरिन्छ फेरि पनि जस्तो सुकै क्रमभङ्ग गर्न पनि नेतृत्व तयार रहन्छ ।

छुटाउनुभयो कि ?