शिक्षक महासंघद्वारा ‘निर्णायक आन्दोलन’ को चेतावनी

शिक्षक महासंघद्वारा ‘निर्णायक आन्दोलन’ को चेतावनी

काठमाडौं । नेपाल शिक्षक महासङ्घले विगतका सहमति कार्यान्वयन र शिक्षक-कर्मचारीका पेसागत मागहरू सम्बोधन नभए कडा र निर्णायक आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएको छ । महासङ्घको राष्ट्रिय समितिले आइतबार एक विज्ञप्ति जारी गर्दै वर्तमान सरकार र शिक्षा तथा खेलकुद मन्त्रालयको ध्यानाकर्षण गराएको छ । 

महासङ्घका अध्यक्ष सुन्दर पन्त र महासचिव तुलाबहादुर थापाद्वारा हस्ताक्षरित विज्ञप्तिमा विगतमा नेपाल सरकार र महासङ्घबीच भएका सहमतिहरू कार्यान्वयन नभएकै कारण शिक्षक-कर्मचारीले लामो समयदेखि उही माग र मुद्दामा लडिरहनुपरेको उल्लेख छ ।

राज्यले वार्तामा सहमति गर्ने तर कार्यान्वयनमा इमान्दार र जिम्मेवार नहुने चरित्र देखाएको आरोप लगाउँदै विज्ञप्तिमा भनिएको छ, ‘विशाल जनमतसहित गठित वर्तमान सरकारले पनि शिक्षक-कर्मचारीका पीरमर्कामा कुनै संवेदनशीलता देखाएको पाइँदैन । यही परिस्थिति निरन्तर रहेमा महासङ्घ कडा र निर्णायक आन्दोलनमा जान बाध्य हुनेछ ।’

महासङ्घले सरकारसमक्ष ७ बुँदे माग अघि सार्दै तत्काल सम्बोधन गर्न आग्रह गरेको छ । जुन यस प्रकार छन्-

१. पेन्सन व्यवस्था: नयाँ विद्यालय शिक्षा ऐन जारी भएको मितिलाई आधार मानी त्यसअघि स्थायी भएका सबै शिक्षकलाई पुरानै प्रणाली अनुसार निवृत्तीभरण दिनुपर्ने र ऐन जारी भएपछि स्थायी हुनेको हकमा योगदानमा आधारित निवृत्तीभरण प्रणाली सुरु गर्न शिक्षा ऐन तथा निवृत्तीभरण ऐन संशोधन गर्नुपर्ने ।

२. अस्थायी सेवा अवधि गणना: आन्तरिक प्रतिस्पर्धाबाट स्थायी भएका शिक्षकको निवृत्तीभरण प्रयोजनका लागि नपुग सेवा अवधि अस्थायी सेवाबाट जोडी पेन्सन दिइनुपर्ने र यो सुविधा हाल निवृत्त भइसकेका त्यस्ता शिक्षकलाई समेत उपलब्ध गराउनुपर्ने ।

३. दुर्गम/स्थानीय भत्ता र बेरुजु: कार्यक्रम कार्यान्वयन पुस्तिकामा समावेश नभएको आधारमा दुर्गम क्षेत्रका शिक्षकले पाउँदै आएको दुर्गम/स्थानीय भत्ता हटाइएको र विगतमा खाइपाई सकेको रकमसमेत महालेखा परीक्षकको कार्यालयले बेरुजु देखाई फिर्ता गर्न पत्राचार गर्नु अन्यायपूर्ण रहेको महासङ्घको ठहर छ । उक्त विभेदकारी नीति सच्याई सबै शिक्षकलाई दुर्गम/स्थानीय भत्ता उपलब्ध गराउन माग गरिएको छ ।

४. कर्मचारी र इसिडी शिक्षकको दरबन्दी: विद्यालय कर्मचारी र इसिडी (प्रारम्भिक बालविकास) शिक्षकको दरबन्दी सिर्जना गरी पद अनुसार नेपाल सरकारबाटै तलबभत्ता उपलब्ध गराउनुपर्ने ।

५. अग्रगामी विद्यालय शिक्षा ऐन: महासङ्घसँगको संस्थागत सहकार्य र संवादमा विद्यालय शिक्षा विधेयकको मस्यौदा तयार गरी विगतका सबै सहमति सम्बोधन हुने गरी विद्यालय, विद्यार्थी र शिक्षक–कर्मचारी मैत्री अग्रगामी विद्यालय शिक्षा ऐन अविलम्ब जारी गर्नुपर्ने ।

६. ५४ सूत्रीय मागको सम्बोधन: महासङ्घको तेस्रो राष्ट्रिय परिषद्बाट पारित भई पेस भएको ५४ सूत्रीय मागलाई अविलम्ब सम्बोधन गर्नुपर्ने ।

७. विधान स्वीकृति: शिक्षा नियमावली (दसौँ संशोधन) को नियम १८७ उपनियम ३ अनुसार मन्त्रालयमा पेस भएको महासङ्घको विधान अविलम्ब स्वीकृत गर्नुपर्ने ।