काठमाडौँ । काठमाडौँ महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवन जोड्ने आकाशे पुल निर्माण गर्ने भएको छ।
अस्पतालका दुई भवनमा आवतजावत गर्न बिरामीलाई समस्या भएपछि महानगरले लिफ्टसहितको आकाशे पुल निर्माण गर्न लागेको हो। पुल निर्माण कार्यको बिहीबार काठमाडौं महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले शिलान्यास गरेकी छन्। सो क्रममा डंगोलले अस्पतालको गेटबाहिरसम्म बिरामीको लाइन, व्यस्त क्षेत्र तथा सडक पार गराउँदा बिरामीले भोग्नुपरेको कठिनाइलाई मध्यनजर गर्दै आकाशे पुल निर्माण गर्न लागिएको जानकारी दिइन्।
पुरानो र नयाँ अस्पताल भवनबिच सडक रहेकाले बिरामीलाई ट्रलीमा गुडाएर सडक पार गराउनुपर्दा गाडी, बाइक र स्कुटरको चापका कारण कठिनाइ हुने गरेको उनले बताइन्। उनले बिरामी र चिकित्सक दुवैको सुरक्षा तथा सहजताका लागि पुरानो र नयाँ अस्पताल भवन जोड्ने पुल समयमा नै निर्माण गरिने उल्लेख गरिन्।
४ करोड ७१ लाख रुपैयाँ लागतमा आगामी कात्तिक ३० गतेसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको महानगरले जनाएको छ।