रूपन्देही । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर १० महिलावार बजारबाट सार्वजनिक स्थानमा देउसी भैलो कार्यक्रममा नेपाली मौलिक कला, संस्कृति र सामाजिक शिष्टाचार प्रतिकूल अश्लील नृत्य गरेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ।
इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरी टोलीले कात्तिक २६ गते राति करिब १२ः५ बजे उनीहरूलाई नियन्त्रणमा लिई सार्वजनिक हित र नैतिकता विरुद्धको कसूरमा थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरीका सूचना अधिकारी चन्द्रकिशोर शाहले जनाए ।
पक्राउ पर्नेमा जिल्ला रूपन्देहीको देवदह नगरपालिका वडा नम्बर ७ की ३० वर्षीया चाहना थापा र सर्लाही, हरिवन नगरपालिका–३ की २१ वर्षीया प्राप्ती बस्नेत छन्। प्रहरीले परम्परागत देउसी भैलो कार्यक्रममा अमर्यादित तथा अश्लील गतिविधि गर्नेलाई प्रचलित कानुन बमोजिम कडा कारवाही हुने चेतावनी समेत दिएको छ।