काठमाडाैं। हाल नेपालमा माथिल्लो वायुमण्डलमा सक्रिय रहेको न्यूनचापीय प्रणालीको सामान्य प्रभाव पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार यस प्रणालीको प्रभावस्वरूप आज दिउँसो देशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने तराईका भू–भागमा मौसम मुख्यतया सफा रहनेछ। साथै, कोशी र बागमती प्रदेशका पहाडी भू-भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
त्यस्तै, आज रातिको समयमा पनि देशका हिमाली र पहाडी भू–भागमा आंशिक बदली कायम रहनेछ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। यसैबीच, गण्डकी प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षासहित हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
विशेषगरी तराईका भू-भाग, उपत्यका तथा नदीखोँचहरूमा बिहानको समयमा थोरै स्थानहरूमा हुस्सु र कुहिरो लाग्ने हुनाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।