काठमाडौं । गोरखाको सिरानचोक गाउँपालिका–२ सिउरेनीमा रोकिराखेको ट्याक्सी अचानक पछाडि सरेर सडकबाट खस्दा चालकसहित पाँच जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
चित्रेपोखरीबाट सिउरेनीतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००२ ज ७६८८ नम्बरको ट्याक्सी बिहान करिब ११:३० बजे कच्ची सडक किनारमा रोकिराखेको अवस्थामा अचानक ब्याक भई करिब ४० मिटर तल खसेको हो। दुर्घटनालगत्तै घाइते सबैको उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल गोरखा पठाइएको छ।
दुर्घटनामा परी सिरानचोक गाउँपालिका–२ मैपतेका ३२ वर्षीया मञ्जु परियार र ५० वर्षीया गीतामाया परियार गम्भीर घाइते भएका छन्। गीतामायाको टाउकोमा भित्री चोट लाग्नुका साथै छाती र दायाँ खुट्टामा समेत चोट लागेको छ। उनी बोल्न सक्ने अवस्थामा रहे पनि चोट गम्भीर प्रकृतिको रहेको चिकित्सकलाई उद्धृत गर्दै प्रहरीले जानकारी दिएको छ।
यस्तै, सोही स्थानकी अन्दाजी २० वर्षीया अञ्जना अछामी र ३० वर्षीया गीता परियार मध्यम घाइते भएका छन्। ट्याक्सी चालक सिरानचोक गाउँपालिका–५ भाँगेका ४० वर्षीय वीरबहादुर गुरुङको अवस्था भने सामान्य छ।
दुर्घटनाको खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट चित्रेपोखरीबाट प्रहरी हवल्दार होमबहादुर रानाको कमान्डमा तीन सदस्यीय टोली घटनास्थलमा खटिएको थियो। चित्रेपोखरी प्रहरी पोस्टबाट करिब सात किलोमिटर उत्तरमा पर्ने उक्त स्थानमा भएको दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।