काठमाडौं। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा अहिले पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ, जसका कारण देशका हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। महाशाखाका अनुसार हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागमा आंशिक बदली देखिएको छ भने देशका अन्य भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।
महाशाखाले आज बुधबार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागमा साधारणतया बदली रहने पूर्वानुमान गरेको छ। त्यस्तै, अन्य हिमाली भू-भाग, पहाडी क्षेत्र तथा मधेस प्रदेशमा आंशिक बदली रहनेछ भने बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने जनाइएको छ।
पूर्वानुमान अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका थोरै स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्नेछ। यस्तै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
यसैगरी, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। मधेस र कोशी प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा समेत हल्का वर्षाको सम्भावना रहेको छ।
पश्चिमी वायुको प्रभावका कारण विशेषगरी हिमाली तथा पहाडी क्षेत्रमा मौसम बदली भई वर्षा र हिमपात हुन सक्ने भएकाले सम्बन्धित क्षेत्रका बासिन्दा तथा यात्रुलाई आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले सुझाव दिएका छन्।