भीमफेदी ईभी दुर्घटना : तीन घाइते हेटौंडा अस्पतालमा, घटनास्थलमा १० जना गम्भीर फेला

भीमफेदी ईभी दुर्घटना : तीन घाइते हेटौंडा अस्पतालमा, घटनास्थलमा १० जना गम्भीर फेला

काठमाडाैं। काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रोबस (ईभी) मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानी गढी नजिकै दुर्घटना हुँदा घाइते भएकामध्ये हालसम्म तीन जनालाई उपचारका लागि हेटौंडा अस्पताल पुर्‍याइएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार दुर्घटनास्थलबाट उद्धार गरी उनीहरूलाई अस्पताल लगिएको हो।

घटनास्थलमा खटिएका नेपाल प्रहरीका सई दीपेन्द्र ढकालका अनुसार घटनास्थलमा १० जना गम्भीर घाइते अवस्थामा फेला परेका छन् भने अन्यको खोजी कार्य जारी छ। भीरमा गाडी खसेका कारण खोजी तथा उद्धार कार्यमा केही कठिनाइ भइरहेको प्रहरीले जनाएको छ। आज बिहान करिब पौने ६ बजे काठमाडौं–कुलेखानी–भीमफेदी सडक खण्डमा उक्त माइक्रोबस सडकबाट करिब ५०० मिटर तल खसेको थियो।

दुर्घटनामा परेको माइक्रोबसको नम्बर खुल्न सकेको छैन भने गाडीमा चालकसहित करिब १३ देखि १४ जना यात्रुहरू सवार रहेको अनुमान गरिएको छ। अहिले नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोलीले घटनास्थलमा खटिएर युद्धस्तरमा उद्धार कार्य जारी राखेको छ।