न्यायाधीश भएपछि राजनीतिको चप्पल बाहिरै खोल्छु : प्रस्तावित न्यायाधीश पाण्डे

न्यायाधीश भएपछि राजनीतिको चप्पल बाहिरै खोल्छु : प्रस्तावित न्यायाधीश पाण्डे

काठमाडौँ । सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित जनक पाण्डेले न्याय सम्पादन गर्दा राजनीतिक प्रभाव र आग्रह–पूर्वाग्रहलाई स्थान नदिने प्रतिबद्धता जनाएका छन् । संसदीय सुनुवाइ समितिमा सांसद पद्मा अर्यालले भुटानी शरणार्थी प्रकरणमा तत्कालीन गृहमन्त्री बालकृष्ण खाणलाई धरौटीमा छाड्ने विषयमा पाण्डेको रायमाथि प्रश्न उठाएपछि उनले यस्तो जवाफ दिएका हुन् ।

पाण्डेले न्यायाधीशको इजलासमा पुगेपछि राजनीतिक सम्बन्ध र पृष्ठभूमि गौण हुने भन्दै मिसिल तथा प्रमाणका आधारमा मात्रै निर्णय गरिने बताए ।‘म अदालतमा आइसकेपछि राजनीतिको चप्पल बाहिरै खोलेको छु । हामी न्यायाधीश भएपछि राजनीति गर्दैनौँ र गर्नु पनि हुँदैन’, उनले भने ।

भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनका न्यायाधीश पाण्डेले बालकृष्ण खाणलाई ३० लाख रुपैयाँ धरौटीमा छाडेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने राय दिएका थिए । अर्का न्यायाधीश प्रकाश खरेलले भने खाणलाई थुनामै राख्नुपर्ने राय दिएपछि तेस्रो न्यायाधीशको इजलासले धरौटीमा छाड्ने आदेश दिएको थियो ।

सुनुवाइका क्रममा पाण्डेले आफूले तत्काल प्राप्त प्रमाणका आधारमा राय दिएको स्पष्ट पारे । आफ्नो राय फरक परेको अवस्थामा तेस्रो न्यायाधीशबाट अन्तिम निर्णय भएको उल्लेख गर्दै उनले न्यायाधीशले राजनीतिक आग्रहभन्दा माथि रहेर काम गर्नुपर्ने बताए ।