काठमाडौं। काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ३८७ सवारीसाधनमाथि कारबाही गरिएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार सोमबार बिहान ६ बजेसम्मको अवधिमा उपत्यकाका विभिन्न स्थानबाट ती सवारीसाधनहरूलाई कारबाही गरिएको हो।
कारबाही पर्नेहरूमा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ६५ जना र सीसीटीभी क्यामेराको मद्दतबाट पहिचान भएका ४१ जना चालक रहेका छन्। त्यस्तै, ट्राफिक बत्ती उल्लङ्घन गर्ने १७ जना र तीव्र गतिमा सवारी चलाउने १० जनामाथि पनि प्रहरीले कारबाही चलाएको छ।
यसैगरी, अनावश्यक रूपमा हर्न बजाउने दुई, सवारीको यान्त्रिक अवस्था ठीक नभएका पाँच र एकतर्फी (वान-वे) सडकमा नियम उल्लङ्घन गर्ने दुई सवारीसाधन नियन्त्रणमा लिइएका छन्। अन्य विभिन्न नियम उल्लङ्घनका कसुरमा २४५ सवारीसाधन कारबाहीमा परेको ट्राफिक प्रहरीले जनाएको छ।