चक्रवातको प्रभाव घट्दै, मौसममा क्रमिक सुधारको संकेत

चक्रवातको प्रभाव घट्दै, मौसममा क्रमिक सुधारको संकेत

काठमाडौं। अर्नब चक्रवातको अवशेषस्वरूप पश्चिम नेपाल नजिकै सक्रिय रहेको न्यून चापीय क्षेत्रको प्रभाव कमजोर बन्दै गएको छ।

हाल माथिल्लो वायुमण्डलमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव मात्र बाँकी रहेकाले देशको मौसममा क्रमिक रूपमा सुधार आउँदै, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

हाल लुम्बिनी प्रदेशलगायत देशका हिमाली भूभागमा साधारणतया बदली (आकाशमा बादल) रहेको छ भने अन्य भूभागमा आंशिक बदली छ। साथै, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा हल्का वर्षा भइरहेको छ।

महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक रूपमा मौसम बदली रहनेछ भने देशका हिमाली तथा पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपात हुने सम्भावना रहेको छ।

त्यसैगरी, आज राति पनि देशका अधिकांश भूभागमा आंशिक बदली कायम रहनेछ। विशेषगरी गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भेगका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपात हुन सक्नेछ। यसका साथै तराई क्षेत्र, उपत्यका तथा नदीका खोँचहरूमा बिहानको समयमा हुस्सु लाग्ने महाशाखाले जनाएको छ।