विराटनगर । शनिवार दिउँसो केराबारीको जङलमा मृत फेला परेका विराटनगरका होटल सन्चालकको मृत्युको विषयलाई लिएर प्रहरीले एकजना युवतीलाई नियन्त्रणमा लिएको छ ।
फिजफायर रेष्टुरेन्टका सन्चालक मनोज खत्रीको मृत्यु प्रकरणलाई लिएर सोही होटलमा कार्यरत युवतीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । खत्री शनिबार दिउँसो केराबारी गाउँपालिका-९ को धारापानी जङ्गलमा झुन्डिएको अवस्थामा फेला परेका थिए । खत्रीको रेस्टुरेन्टमा करिब ४–५ वर्षदेखि काम गर्दै आएकी झापाकी २७ वर्षीय युवतीसँग व्यक्तिगत सम्बन्ध रहेको देखिएको प्रहरीले जनाएको छ ।
रेस्टुरेन्टको आर्थिक हिसाब किताबलाई आधार बनाएर अनुसन्धान थालेपछि युवती पक्राउ परेको प्रहरीले जनाएको छ । मोरङका प्रहरी प्रमुख एसपी कवित कटवालले खत्रीले सञ्चालन गर्दै आएको रेस्टुरेन्टको आर्थिक हिसाब किताबसमेत हेर्ने ती युवतीसँग खत्रीको प्रेम सम्बन्ध समेत रहेको देखिएको बताए ।
प्रारम्भिक रुपमा खत्री र युवतीबीच प्रेम सम्बन्धका विषयमासमेत प्रहरीले अनुसन्धान थालेको जनाएको छ । प्रहरीले युवतीलाई शनिबार राति नै पक्राउ गरी अनुसन्धान अघि बढाएको हो।
उनी विरुद्ध आत्महत्या दुरुत्साहनसम्बन्धी कसुरमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । खत्रीको मृत्युमा युवतीको संलग्नता वा उनको व्यवहारको कुनै भूमिका छ वा छैन भन्ने विषय अनुसन्धानबाट पुष्टि भइनसकेको प्रहरीले जनाएको छ ।
प्रहरीले खत्री र युवतीबीच पछिल्लो समय सम्बन्धमा खटपट देखिएको तथा रेस्टुरेन्टको आर्थिक कारोबारसम्बन्धी विषय पनि अनुसन्धानयोग्य रहेको जनाएको छ । खत्री शुक्रवार दिउँसो करिब १ बजे स्कुटर लिएर घरबाट निस्किएका थिए । त्यसपछि परिवारसँग सम्पर्कविहीन भएका उनी शनिवार अपराह्न मोरङको केराबारी गाउँपालिका–९ स्थित धारापानी जङ्गलमा रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका थिए ।
परिवारका सदस्यले पहिचान गरेपछि शनिबार साँझ उनको सनाखत भएको थियो। खत्री विवाहित हुन् । उनका श्रीमती, एक छोरा र एक छोरी छन् । घटनाका बेला उनकी श्रीमती भारतमा थिइन् ।