काठमाडौँ । सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका चारजनाको संसदीय सुनुवाइ प्रयोजनका लागि उजुरी आह्वान गरिएको छ ।
सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका उच्च अदालतका मुख्य न्यायाधीश रत्नबहादुर बागचन्द तथा न्यायाधीशहरू चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगीविरुद्ध उजुरी आह्वान भएको हो ।
संसदीय सुनुवाइ समितिले सोमबार सूचना जारी गर्दै उजुरी आह्वान गरेको हो । जारी सूचनाअनुसार सिफारिस भएका व्यक्तिलाई न्यायाधीशमा नियुक्त गर्न उपयुक्त छैन भन्ने लागेमा स्पष्ट आधार र प्रमाणसहित उजुरी दिन सर्वसाधारणलाई आग्रह गरिएको छ ।
सूचना प्रकाशित भएको मितिले १० दिनभित्र कार्यालय समयमा समितिको सचिवालय वा कुनै जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन सकिने सूचनामा उल्लेख छ । जसअनुसार उजुरीकर्ताले आफ्नो नाम, थर, ठेगाना र फोन नम्बर स्पष्ट रूपमा खुलाउनुपर्नेछ । तर, आफ्नो परिचय खुलाउन नचाहनेले गोप्य रूपमा समेत उजुरी दिन सक्ने भनिएको छ ।