राष्ट्रपति पौडेलद्वारा नवदुर्गा भवानीको पूजाअर्चना

राष्ट्रपति पौडेलद्वारा नवदुर्गा भवानीको पूजाअर्चना

भक्तपुर । राष्ट्रपति रामचन्द्र पौडेलले भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पुगेर नवदुर्गा भवानीको पूजाअर्चना गरेका छन्।

बडादसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाका अवसरमा आइतबार राष्ट्रपति पौडेलले प्रथम महिला सविता पौडेलसहित नवदुर्गा भवानीको पूजाअर्चना गरेका हुन्। भक्तपुरको नवदुर्गा मन्दिर परिसरमा अपराह्न राष्ट्रपति पौडेललाई मन्दिर व्यवस्थापन समितिका पदाधिकारी, भक्तपुर जिल्ला सुरक्षा समितिका पदाधिकारी, जनप्रतिनिधि तथा स्थानीयहरूले स्वागत गरेका थिए।

सो अवसरमा परम्परागत रूपमा देखाइने नृत्य प्रस्तुत गरिएको थियो। राष्ट्रपति पौडेलले नवदुर्गा देवगणका मूर्ति अवलोकन तथा दर्शन गर्नुका साथै नवदुर्गाका पुजारी, नाइके र देवगणलाई दक्षिणा प्रदान गरे। यहाँ ब्रह्मायणी, माहेश्वरी, कुमारी, वैष्णवी, वाराही, महाकाली, महालक्ष्मी, त्रिपुरासुन्दरी र भद्रकाली गरी नवदेवीको पूजा गरिन्छ।

उक्त अवसरमा राष्ट्रपति पौडेललाई तलेजु मन्दिरबाट ल्याइएको टीका तथा प्रसाद मन्दिरका मूल नाइकेले प्रदान गरेका थिए। दसैँको अन्तिम दिन राष्ट्रप्रमुखले भक्तपुरस्थित नवदुर्गा भगवतीको पूजाअर्चना गर्ने परम्परा रहिआएको छ।