धेरै भारी वर्षा/हिमपातको पूर्वानुमान, उच्च सतर्कता अपनाउन आग्रह

धेरै भारी वर्षा/हिमपातको पूर्वानुमान, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । यस साताको अन्त्यमा देशमा धेरै भारीसम्म वर्षाको पूर्वानुमान छ । कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा/हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा पनि भारी वर्षा/हिमपातको पूर्वानुमान छ । महाशाखाले बिहीबारदेखि शनिबार (कात्तिक १२–१४)सम्म वर्षा/हिमपातको पूर्वानुमान गरेको हो ।

“...ती क्षेत्रमा हुन सक्ने गेग्य्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रहरूको दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता साथै विभागको पछिल्लो सूचनामा अद्यावधिक हुन अनुरोध छ,” महाशाखाले भनेको छ ।

महाशाखाले अबका तीन दिनका निम्ति भने कुनै मौसमी चेतावनी जारी गरेको छैन । तर, महाशाखाले बुधबार (कात्तिक ११) दिउँसो केही स्थानमा हल्का र राति मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको जनाएको छ ।

यसबीचमा त्यसअघिका दिनमा वर्षा/हिमपातको खासै सम्भावना छैन । बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावले वर्षा र हिमपात हुन लागेको हो । त्यो अहिले गहिरो न्यूनचापीय प्रणालीमा परिणत भइसकेको भारत मौसम विज्ञान विभागले जनाएको छ ।

त्यो अझै शक्तिशाली बन्दै चक्रवातमा परिणत हुने सम्भावना छ । त्यसपछि वर्षा/हिमपात गराउने प्रणाली भारतको जमिन भूभागबाट अघि बढेर नेपालको तराई क्षेत्रसम्म आइपुग्ने मौसमविद्ले बताएका छन् ।

भारी वर्षा/हिमपातको पूर्वानुमानसँगै बिहीबारदेखि उच्च सतर्कता अपनाउनुपर्नेमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जोड दिएको छ ।