१३ औँ साग : पुरुष भलिबलमा नेपाल–भारत भिड्दै, नेपाललाई जित्‍नै पर्ने दवाव

१३ औँ साग : पुरुष भलिबलमा नेपाल–भारत भिड्दै, नेपाललाई जित्‍नै पर्ने दवाव

काठमाडौं : १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष भलिबलमा नेपालले समूह चरणको अन्तिम खेल आज (शुक्रबार) भारतसँग खेल्दैछ ।

आज साँझ ७ बजे त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा भारत र नेपालबीच प्रतिस्पर्धा हुँदैछ ।

समूह ‘ए’ मा रहेको नेपाल बुधबार बंगलादेशसँग पराजित भएको थियो । नेपाल बंगलादेशसँग ३–२ सेटले पराजय भएको थियो । नेपाल सेमिफाइनलमा स्थान सुरक्षित गर्न आजको खेल जित्नैपर्ने हुन्छ ।

तर, यस अगाडि भारतसँग भएको मैत्रीपूर्ण खेलमा सोझो सेटबाटै नेपाल पराजित भएको थियो ।
बिहीबार भएको बंगलादेश र भारतबीच भएको खेलमा भारतले (३–० को) सोझो सेटमा बंगलादेशलाई पराजित गरेको छ ।

समूह ‘ए’मा भारत, बंगलादेश र नेपाल रहेका छन् । पाकिस्तानले समूह चरणको अन्तिम खेल आज श्रीलंकासँग खेल्नेछ ।राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा आज ५ बजे दुई देशबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘बी’मा श्रीलंका, पाकिस्तान र माल्दिभ्स रहेका छन् ।