पश्चिमी वायुका कारण पहाडी र हिमाली क्षेत्रमा बादल, तराईमा बिहानपख हुस्सु लाग्ने

पश्चिमी वायुका कारण पहाडी र हिमाली क्षेत्रमा बादल, तराईमा बिहानपख हुस्सु लाग्ने

काठमाडौँ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

यसको प्रभावका कारण अहिले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू-भागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागमा आंशिक बदली (बादल लाग्ने) भएको छ। देशका बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ।

मंगलबार दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भू-भागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भाग तथा तराईका क्षेत्रहरूमा मौसम मुख्यतया सफा रहने अनुमान छ। तर, कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ।

 रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने देशका बाँकी हिमाली र पहाडी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। तराईका केही स्थानहरूमा बिहानपख हुस्सु वा कुहिरो लाग्न सक्नेछ। यस्तै, गण्डकी प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ।