विद्युतीय सवारीको भाडा दर सार्वजनिक, कुन रुटमा कति ?

विद्युतीय सवारीको भाडा दर सार्वजनिक, कुन रुटमा कति ?

काठमाडौँ । सरकारले अन्तर प्रदेश (छोटो, मध्यम र लामो दूरी) मा विद्युतीय शक्तिबाट सञ्चालन हुने सार्वजनिक सवारीको भाडा दर समायोजन गरेको छ । यातायात व्यवस्था विभागले बिहीबार भाडा दर सार्वजनिक गरेको हो । 

विभागका अनुसार तराई र पहाडी बाटोमा सञ्चालन हुने यात्रुवाहक तथा मालवाहक सवारीको प्रति किलोमिटर भाडा दरमा परिमार्जन गरिएको छ । तराईको लामो दूरी (२५० कि.मि. भन्दा बढी) पक्की र ग्राभेल बाटोमा प्रति कि.मि. प्रति व्यक्ति रु. २.९३ कायम गरिएको छ भने २५ देखि २५० कि.मी. सम्मको दूरीमा रु. ३.०० तोकिएको छ । त्यसैगरी, काठमाडौँ–पोखरा र पोखरा–नारायणगढ खण्डका लागि प्रति कि.मि. रु. ३.२४ कायम गरिएको विभागले जनाएको छ ।

विभागका अनुसार यातायात व्यवस्था विभागअन्तर्गतका कार्यालयबाट डिलक्स सुविधा लिएको प्रमाणित भएका सवारी साधनले तोकिएको सामान्य भाडा दरमा २० प्रतिशत र सुपर डिलक्स सुविधा लिएका सवारी साधनले डिलक्सको भाडा दरमा थप २० प्रतिशत रकम जोडेर लिन सक्नेछन् ।

विद्यार्थी र ज्येष्ठ नागरिकलाई छुट, रात्रिकालीन बसमा २ चालक अनिवार्य

विभागले जारी गरेको आचारसंहिता अनुसार विद्यार्थी, अपाङ्गता भएका व्यक्ति, र ज्येष्ठ नागरिकलाई तोकिएको दरमा अनिवार्य सहुलियत दिनुपर्नेछ । सहुलियत दिँदा निश्चित रुट, कोटा वा दिन नतोकी सधैँ दिनुपर्ने र यात्रुले आफ्नो सक्कल परिचयपत्र देखाउनुपर्ने व्यवस्था गरिएको छ ।

त्यसैगरी, लामो दूरीको रात्रिकालीन बसमा अनिवार्य रूपमा दुई जना चालक राख्नुपर्ने, चालक र सहचालकले परिचयपत्र वा पोसाक लगाउनुपर्ने, र तोकिएको भन्दा बढी भाडा लिएमा कडा कारबाही गरिने विभागले चेतावनी दिएको छ । बढी भाडा लिएको खण्डमा यात्रुले हेलो सरकारको टोल फ्री नम्बर ११११ वा ट्राफिक प्रहरीको नम्बर १०३ मा उजुरी गर्न सक्नेछन् ।

यात्रुवाहक सवारीसँगै मालवाहक सवारी (ट्रक) को पनि भाडा समायोजन भएको छ । तराईतर्फ प्रति किलोमिटर प्रति टन रु.७.७२ र पहाडतर्फ रु. १४.७७ कायम गर्दै १० टन क्षमतालाई आधार मानेर विभागले रुटगत भाडा दर समेत तोकेको छ ।

जसअनुसार वीरगञ्ज–काठमाडौँ (पहाडी बाटो) को ट्रक भाडा रु. ३१,४४६ र भैरहवा–काठमाडौँको भाडा रु. ३२,१४१ तोकिएको छ ।

छुटाउनुभयो कि ?