काठमाडौँ । आसन्न चाडपर्वको मौका छोपेर आन्तरिक हवाई भाडा अस्वाभाविक रूपमा बढाइएको गुनासो बढेपछि नागरकि उड्डयन प्राधिकरणले आज वायुसेवा कम्पनीहरूसहितको बैठक राखेको छ । उक्त बैठकमा स्वीकृत दरभन्दा सस्तोमा टिकट बिक्री गर्न वायु सेवा कम्पनीहरू सहमत भएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।
प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशन तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलको सक्रियतामा क्यानले आन्तरिक वायुसेवा कम्पनीका पदाधिकारी तथा प्रतिनिधिहरूलाई छलफलका लागि बोलाएको थियो ।
उक्त छलफलमा क्यान र आन्तरिक वायुसेवा कम्पनीका प्रतिनिधिहरूबीच यात्रुहरूलाई मर्का नपर्ने गरी सरकारले तोकेको स्वीकृत अधिकतम भाडादरभन्दा सस्तोमा टिकट बिक्री वितरण गर्ने सहमति भएको छ ।
साथै, टिकटको दरबारे सर्वसाधारणलाई स्पष्ट जानकारी दिन सो भाडादर सम्बन्धित वायुसेवा कम्पनीहरूको आधिकारिक बिक्री वितरण प्लेटफर्म (वेबसाइट तथा एप) मा अनिवार्य रूपमा प्रकाशन गर्नुपर्ने सहमतिसमेत जुटेको छ ।
चाडपर्वको समयमा घर जाने यात्रुहरूको चापलाई देखाउँदै वायुसेवा कम्पनीहरूले अत्यधिक भाडा असुल्न थालेको भन्दै चौतर्फी गुनासो आएपछि सरकारले यस विषयमा चासो देखाएको प्रधानमन्त्री कार्यालयको भनाइ छ ।
नेपालमा आन्तरिक हवाइ सेवाको न्यूनतमदेखि अधिकतम भाडादर तत्कालीन पर्यटनमन्त्री स्तरीय निर्णयअनुसार २०७२ साल मंसिर २७ गते निर्धारण गरिएको थियो। सोही स्वीकृत दरलाई आधार मान्दै वायुसेवा कम्पनीहरूले चाडपर्वको समयमा यात्रुलाई सहुलियत दरमा सेवा दिन सहमति जनाएका छन् ।