काठमाडौँ । नेपाली कांग्रेसको १५औं महाधिवेशनमा खुला उपसभापतिमा उम्मेदवारी दिएका नेता मिनेन्द्र रिजालले सभापति गगन थापासँग भेटेपछि उम्मेदवारी फिर्ता लिन तयार भएका छन्।
मंगलबार उम्मेदवारी दर्ता गरेपछि रिजालले सभापति थापासँग भेटवार्ता गरेका थिए। भेटवार्तामा भएको कुराकानी डा. रिजालले आफ्नो फेसबुकमा पोस्ट गरेका छन्। भेटमा थापाले रिजालको अनुभव र ज्ञानलाई पार्टीमा उपयोग गर्नुपर्ने भन्दै पदाधिकारीमा प्रतिस्पर्धा नगरी पार्टीभित्रै बसेर काम गर्न आग्रह गरेका थिए।
सभापति थापाले रिजालसँग आफूले पार्टी सभापतिको हैसियतमा सँगै बसेर काम गर्न चाहेको बताए। रिजालको अनुभव र ज्ञान नयाँ पुस्तालाई जोड्ने ‘पुल’ का रूपमा आवश्यक रहेको उनको भनाइ थियो। ‘दाइको उपस्थिति नेपाली कांग्रेस पार्टीभित्र र हाम्रो जेनेरेसनले पार्टी लिड गर्दै गर्दा पनि त्यो अनुभव, ज्ञानको साथमा अझै सशक्त उपस्थिति हुनुपर्छ भन्ने ठान्छु,’ थापाले भेटमा भने, ‘यो बेलामा सँगै बसेर काम गर्ने कुराको लागि मेरो रिक्वेस्ट पनि छ।’
थापाले पार्टीमा महत्वपूर्ण योगदान गर्न सक्ने व्यक्तिले अनिवार्य रूपमा पदाधिकारीकै जिम्मेवारी लिनुपर्ने अवस्था नरहने गरी काम गर्ने स्पेस बनाउनुपर्ने बताएका थिए। रिजालले पनि कांग्रेसलाई योगदान गर्ने कुरा आफ्नो प्राथमिकता रहेको भन्दै आफूले पदका लागि उम्मेदवारी नदिएको बताए। उनले कांग्रेसलाई पुनः बलियो बनाउन थापाको नेतृत्वलाई सहयोग गर्ने निर्णय गरेको बताए।
‘आजको दिनमा जहाँ हामी पुग्या छौँ, गगन थापाबाट सम्भव भयो भने सम्भव छ, अरु कसैबाट सम्भव छैन,’ रिजालले भने, ‘त्यसैले तिमीलाई सहयोग गर्छु। तिमीले नै भनिसकेपछि मैले कुनै पदमा लड्छु भनेर पनि यहाँ आएको छैन।’
उनले आफूलाई पार्टीको केन्द्रीय समितिमा पद खोजिरहने आकांक्षा नरहेको पनि बताए। ‘मेरो यो पाली पद खोजिरहने पार्टीको केन्द्रीय समिति त्यो यात्रा टुंगियो। हामीले त्यसलाई औपचारिक रूपमा भोलि गएर आफ्नो मनमा फेर्ता लिनेछौँ,’ उनले भने।
रिजालले कांग्रेसको आत्मा फर्काउनुपर्ने आफ्नो एउटै आकांक्षा रहेको बताएका छन्। थापाको नेतृत्वमा कांग्रेसलाई अघि बढाउने काममा आफूले सहयोग गर्ने उनको भनाइ थियो। कांग्रेसको १५औं महाधिवेशनमा मंगलबार खुला उपसभापतिका लागि दुई जना निर्वाचित हुने पदमा रिजालसहित डा. चन्द्र भण्डारी, देवराज चालिसे, सुरेन्द्रराज पाण्डे, मधु आचार्य, दीपक गिरी, धनराज गुरुङ, गोविन्द भट्टराई र डा. चन्द्रमोहन यादवले उम्मेदवारी दिएका थिए।
उम्मेदवारको दाबी विरोध र उम्मेदवारी फिर्ताका लागि बुधबारको समय तोकिएको छ। बिहीबार मतदान हुने कार्यतालिका छ।