काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशनमा महामन्त्री पदमा उमेदवारी दिएका छन् । मंगलबार (असोज २०) उनले महामन्त्रीमा उमेदवारी दर्ता गराएका हुन् ।
पौडेलले सभापति गगनकुमार थापाको नेतृत्वमा कांग्रेसलाई अगाडि बढाउन आफूले महामन्त्री पदमा निरन्तरता खोजेको यसअघि नै बताएका थिए । कांग्रेस महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमितिका निम्ति यस दिन मनोनयनपत्र दर्ता गरिँदै छ ।
जारी महाधिवेशनको बन्दसत्रबाट विधान संशोधन गरी कांग्रेसमा महामन्त्रीको संख्या तीन बनाइएको छ । तीनमध्ये एक महिला महामन्त्री अनिवार्य गरिएको छ । पौडेल विशेष महाधिवेशनबाट चुनिएका बहालवाला महामन्त्री हुन् । यसपटक उनी खुलातर्फबाट महामन्त्रीमा प्रतिस्पर्धा गर्दै छन् ।
खुलातर्फ महामन्त्रीका निम्ति पौडेलसहित गुरुराज घिमिरे, उदयशमशेर राणा, मधु आचार्य, नैनसिंह महर, सुनीलकुमार शर्मालगायत नेता आकांक्षी छन् ।