काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ केन्द्रीय महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति निर्वाचनका लागि उमेदवारहरूको मनोनयन पत्र दर्ता गर्ने समय दुई घण्टा थप गरिएको छ ।
केन्द्रीय निर्वाचन समितिले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै पूर्व निर्धारित समयसीमा परिमार्जन गरी साँझ ६ बजेसम्मका लागि मनोनयन दर्ताको समय बढाएको जानकारी दिएको हो ।यसअघि निर्वाचन कार्यतालिका अनुसार अपराह्न ४ बजेसम्म समय तोकिएको थियो ।
मनोनयन प्रक्रियालाई व्यवस्थित बनाउन समय थप गरिएको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
निर्वाचन समितिले तोकिएको विस्तारित समयावधिभित्र आफ्ना मनोनयन पत्र दाखिला गर्न सम्पूर्ण केन्द्रीय महाधिवेशन प्रतिनिधि सदस्यहरूलाई आग्रह गरेको छ ।