काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले आफ्नो पदीय हैसियतको दुरुपयोग गर्दै सूचना बाहिर लैजाने जोकसैलाई कानुनी कारबाहीको दायरामा ल्याउने चेतावनी दिएका छन् ।
मंगलबार सामाजिक सञ्जालमा लेख्दै गृहमन्त्री गुरुङले गृह मन्त्रालय तथा मातहतका निकायमा कार्यरत रहेर राज्यका गोप्य र संवेदनशील सूचना अनधिकृत व्यक्ति वा संस्थालाई चुहाउने पदाधिकारी तथा कर्मचारीहरूमाथि मन्त्रालय कठोर रूपमा प्रस्तुत हुने बताएका हुन् ।
आफ्नो पदीय हैसियतको दुरुपयोग गर्दै सूचना बाहिर लैजाने प्रवृत्ति लामो समयदेखि देखिएको भन्दै मन्त्रालयले यस्ता गतिविधिमा संलग्न कसैलाई पनि उन्मुक्ति नदिने र कडा कानुनी कारबाहीको दायरामा ल्याउने चेतावनी दिएका हुन् ।
“गृह मन्त्रालय र मातहतका निकायमा जिम्मेवारीमा रहेका कुनै पनि पदाधिकारी वा कर्मचारीले आफ्नो पदीय हैसियत भुलेर गोप्य वा संवेदनशील सूचना अनाधिकृत व्यक्ति वा निकायलाई संवेदनशील सूचना चुहाउने प्रवृत्ति मैले लामो समयदेखि नियालिरहेको छु,” गृहमन्त्री गुरुङले सामाजिक सञ्जालमा लेखेका छन् ।
उनले राज्यको संवेदनशील सूचना कसैको निजी सम्पत्ति नभएको बताए । “राज्यको संवेदनशील सूचना कसैको निजी सम्पत्ति होइन, सार्वजनिक जिम्मेवारी हो । पदले सूचनामा पहुँच दिन्छ, तर दुरुपयोग गर्ने अधिकार दिँदैन,” उनले लेखेका छन्, “यहाँ प्राप्त हुने सानोभन्दा सानो सूचना, सुराक वा गुप्त जानकारीले समेत अपराध रोक्न, अनुसन्धान अघि बढाउन वा भविष्यमा कुनै गम्भीर घटनाको सत्यतथ्य स्थापित गर्न निर्णायक भूमिका खेल्छ ।”
राज्यले सुम्पिएको गोपनीयतामाथि जानाजान आफ्नो देश र संगठनमाथि विश्वासघात गर्ने जोसुकैले उन्मुक्ति नपाउने उनको भनाइ छ । त्यस्ता व्यक्तिलाई कानुनी कठघरामा ल्याइने उनले बताए ।
सरकारले संवेदनशील सूचना चुहाएको भन्दै सोमबार सशस्त्रका प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई निलम्बन गरेको थियो ।