काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तेस्रो दिन आज (मंगलबार) नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि उम्मेदवारी मनोनयन दर्तासहितका निर्वाचन प्रक्रिया सुरु हुँदैछन्।
केन्द्रीय निर्वाचन समितिले तोकेको कार्यतालिका अनुसार आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विभिन्न पदका लागि उम्मेदवारी मनोनयनपत्र दर्ता गर्ने समय तोकिएको छ।
मनोनयन दर्ता समाप्त भएपछि आजै दिउँसो ४:३० बजे उम्मेदवारहरूको प्रथम नामावली प्रकाशन गरिनेछ। लगत्तै दिउँसो ४:३० देखि ५:३० बजेसम्म उम्मेदवारविरुद्ध दाबी विरोधका लागि समय दिइएको छ। प्राप्त दाबी विरोधउपर साँझ ५:३० देखि ६:३० बजेसम्म जाँचबुझ गरी बेलुका ७ बजे उम्मेदवारहरूको दोस्रो नामावली प्रकाशन गरिने निर्वाचन समितिले जनाएको छ।