काठमाडौँ। नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र र केन्द्रीय कार्यसमिति चयनका लागि निर्वाचन प्रक्रिया सुरु हुँदैछ।
खुलामञ्चमा आयोजना हुने बन्दसत्रमा पार्टी सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षका प्रतिवेदनहरू पेस गर्ने कार्यसूची रहेको छ। बन्दसत्रमा देशभरिबाट आएका करिब ७ हजार ५ सय प्रतिनिधिहरू सहभागी हुनेछन्।
पेस गरिएका प्रतिवेदनहरूमाथि गहन छलफलका लागि प्रतिनिधिहरूलाई भूगोलका आधारमा हिमाल, पहाड र तराई–मधेश गरी तीन समूहमा विभाजन गरिने कार्यक्रम छ। हिजो खुलामञ्चमा नै महाधिवेशनको भव्य उद्घाटन समारोह सम्पन्न भएको थियो।
यसैबीच, नयाँ नेतृत्व चयनका लागि आजैदेखि निर्वाचनका कार्यक्रमहरूसमेत अघि बढ्दैछन्। कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार आज साँझ ५ बजे मतदाता नामावली प्रकाशन गरी निर्वाचन प्रक्रियाको औपचारिक सुरुवात गरिनेछ।
सार्वजनिक कार्यतालिका अनुसार आज साँझ ५ बजेदेखि ६:३० बजेसम्म मतदाता नामावलीउपर दाबीविरोधको समय तोकिएको छ भने छानबिनपश्चात् बेलुका ८:३० बजे मतदाताको अन्तिम नामावली प्रकाशन गरिनेछ।
भोलि, असोज २० गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारी मनोनयन दर्ताको समय राखिएको छ। सोही दिन अपराह्न ४:३० बजे उम्मेदवारहरूको पहिलो नामावली प्रकाशन, ५:३० बजेसम्म दाबीविरोध र बेलुका ७ बजे दोस्रो नामावली प्रकाशन गरिनेछ।
असोज २१ गते बिहान ९ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय रहनेछ भने बिहान १० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ। असोज २१ गते दिनभर उम्मेदवारहरूलाई प्रचारप्रसारको समय दिइनेछ।
अन्तिम मतदान भने असोज २२ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ। मतदानका लागि राष्ट्रिय सभागृह, खुलामञ्च र प्रज्ञा भवनमा केन्द्रहरू तोकिएको छ। मतदान सम्पन्न भएलगत्तै मतगणना सुरु गरिने निर्वाचन समितिले जनाएको छ।