भाडा र सुरक्षाको कारण वनस्थली छाड्दै रास्वपा, उपत्यकामा नयाँ कार्यालय बनाउने निर्णय

भाडा र सुरक्षाको कारण वनस्थली छाड्दै रास्वपा, उपत्यकामा नयाँ कार्यालय बनाउने निर्णय

काठमाडौं।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो केन्द्रीय कार्यालय स्थानान्तरणका लागि काठमाडौँ उपत्यकाभित्र उपयुक्त घर वा जग्गाको खोजी थालेको छ। पार्टीले उपयुक्त स्थान पहिचान गर्न आफ्ना सदस्य तथा शुभेच्छुकहरूलाई आग्रह गरेको छ।

शनिबार बसेको रास्वपा केन्द्रीय समितिको बैठकले वर्तमान केन्द्रीय कार्यालय अन्यत्र सार्नुपर्ने आवश्यकता देखिएपछि नयाँ स्थानको खोजी गर्ने निर्णय गरेको हो। बैठकको निर्णय सार्वजनिक गर्दै पार्टीका प्रवक्ता जगदीश खरेलले उपत्यकाभित्र पायक पर्ने स्थानमा घर खरिद गर्न वा नयाँ कार्यालय निर्माणका लागि जमिन खोज्न सदस्य तथा शुभेच्छुकहरूलाई अपिल गरिएको जानकारी दिए।

पार्टीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “पार्टीको केन्द्रीय कार्यालय अन्यत्र सार्नुपर्ने आवश्यकता महसुस गर्दै पार्टीका लागि जमिन वा घर खरिद गर्न काठमाडौँ उपत्यकाको पायक पर्ने स्थानमा खोजी गर्न पार्टीका सदस्य तथा शुभेच्छुकहरूलाई केन्द्रीय समिति बैठकले अनुरोध गरेको छ।”

हाल रास्वपाको केन्द्रीय कार्यालय काठमाडौँको वनस्थलीमा अवस्थित छ। उक्त भवन पार्टीले घरधनी भरतमणि देवकोटासँग भाडामा लिएर प्रयोग गर्दै आएको थियो। करिब एक वर्षअघि घरधनी देवकोटाले लामो समयदेखि भाडा भुक्तानी नभएको र सुरक्षासम्बन्धी विविध कारण देखाउँदै तीन महिनाभित्र भवन खाली गरिदिन रास्वपालाई औपचारिक जानकारी गराएका थिए।

छुटाउनुभयो कि ?