काठमाडौं। आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उम्मेदवार छनोटका लागि एक विशेष समिति गठन गरेको छ। पार्टी केन्द्रीय समितिको बैठकपछि महामन्त्री विपिन आचार्यको संयोजकत्वमा उक्त उम्मेदवार छनोट समिति गठन गरिएको जानकारी रास्वपा प्रवक्ता जगदीश खरेलले दिएका छन्।
गठित समितिमा मिलन लिम्बु, रहबर अन्सारी, तोसिमा कार्की, कविन्द्र बुर्लाकोटी, सुशान्त वैद्धिक, टासी ल्हाजोम र जनकसिंह धामी सदस्यका रूपमा रहेका छन्। समितिलाई समावेशी, सन्तुलित र प्रभावकारी बनाउन सातै प्रदेशको प्रतिनिधित्व हुने गरी संरचना तयार पारिएको छ। यसका साथै, सातै प्रदेशका रास्वपा प्रदेश सभापतिहरूलाई यस समितिमा पदेन सदस्यका रूपमा समावेश गरिएको छ।
प्रवक्ता खरेलका अनुसार समितिमा अझै केही सदस्यहरू मनोनयन गर्न बाँकी रहेकाले छिट्टै पूर्णता दिइनेछ। आगामी स्थानीय निर्वाचनमा योग्य, सक्षम र जनप्रिय उम्मेदवारहरूलाई पारदर्शी प्रक्रियाबाट छनोट गरी चुनावी मैदानमा उतार्ने रास्वपाको तयारी रहेको छ।