काठमाडौँ। प्रतिनिधि सभाको दोस्रो अधिवेशन समापन भएको छ। गत वैशाख २८ गतेदेखि सुरु भई असोज १६ गतेसम्म १४५ दिन चलेको यो अधिवेशन ६२ दिनमा ६८ वटा बैठक बसेर समाप्त भएको हो।
अधिवेशन समापन गर्दै सभामुख डोलप्रसाद अर्यालले यस अवधिमा संसद्बाट आर्थिक विधेयक २०८३, विनियोजन विधेयक २०८३ र सम्पत्ति शुद्धीकरण निवारण (तेस्रो संशोधन) लगायत १२ वटा महत्त्वपूर्ण विधेयक पारित भएको जानकारी दिए। पारित भएका १२ मध्ये ११ वटा विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भइसकेका छन् भने बाँकी २० वटा विधेयक विभिन्न संसदीय समितिहरूमा विचाराधीन रहेका छन्।
यस अधिवेशनले बजेट पारित गर्नुका साथै हिमालमा परेको जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी अध्ययनका लागि १५ सदस्यीय विशेष संसदीय समिति गठन गरेको छ।
सभामुख अर्यालले संसद्ले कानुन निर्माणसँगै जनसरोकारका विषय, विपद् व्यवस्थापन र समसामयिक राष्ट्रिय मुद्दाहरूमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए। साथै, युवा सांसदहरूले बैठकमा प्रस्तुत गरेका तार्किक विचार र प्रभावकारी प्रस्तुतिले संसदीय अभ्यासमा महत्त्वपूर्ण योगदान पुर्याएको भन्दै उनले प्रशंसा गरे।