काठमाडौँ। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताबद्ध र बलियो बनाएर लैजाँदा वर्तमान राजनीतिक धक्का र चुनौतीहरूबाट सहजै माथि उठ्न सकिने बताएका छन्।
शुक्रबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा नवमनोनीत केन्द्रीय कमिटी सदस्यहरूलाई पद तथा गोपनीयताको शपथग्रहण गराउँदै अध्यक्ष ओलीले मुलुकको समृद्धिको महान् लक्ष्य बोकेको एमालेलाई घेराबन्दी र विकासविरोधी तत्त्वहरूले रोक्ने प्रयास गरे पनि पार्टी आफ्ना उद्देश्यबाट पछि नहट्ने स्पष्ट पारे।
देशमा प्रतिगमन भएको र पार्टीलाई धक्का लागेको भए तापनि सानातिना विषयमा नअल्झिएर फराकिलो मनका साथ अघि बढेमा एमाले फेरि साविककै स्थितिभन्दा अझ सशक्त रूपमा उदाउने विश्वास उनले व्यक्त गरे।
कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले शपथ लिएका केन्द्रीय सदस्यहरूलाई समाजमा ‘आदर्श व्यक्ति’ को रूपमा स्थापित हुन आग्रह गर्दै गलत आचरण त्यागेर शुद्ध, निष्कलंक, कम्युनिस्ट शालीनता र विनम्रता प्रस्तुत गर्न निर्देशन दिए। साथै, वर्तमान समय ‘सूचना प्रविधि (IT) को युद्ध’ को जमाना भएकाले नेता तथा कार्यकर्ताहरूले आधुनिक प्रविधि र समसामयिक परिवेशलाई आत्मसात् गर्दै सोही अनुसार राजनीतिक भूमिका निर्वाह गर्नुपर्नेमा उनले विशेष जोड दिए।