काठमाडौं। १५औं महाधिवेशनको संघारमा पुगेको नेपालको सबैभन्दा पुरानो प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद समानान्तर अभ्यासको चरणमा प्रवेश गरेको छ। गगनकुमार थापा नेतृत्वको विशेष महाधिवेशन पक्षधरहरू आफ्नो कार्यतालिकाअनुसार अघि बढिरहँदा निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले पनि बिहीबारदेखि समानान्तर रूपमा वडा अधिवेशन सुरु गरेको छ। पार्टीभित्र दुई धार प्रष्ट रूपमा आमनेसामने हुँदा विगतमा महत्त्वपूर्ण मानिएको नेताद्वय डा. शेखर कोइराला र पूर्णबहादुर खड्का नेतृत्वको ‘तेस्रो धार’ भने अलमलका कारण खुम्चिन पुगेको छ।
गगन थापा पक्षले गत असोज ३ र ४ गते नै वडा अधिवेशन सम्पन्न गरिसकेको दाबी गर्दै यही असोज १८ गतेदेखि केन्द्रीय महाधिवेशन गर्ने तयारी गरेको छ। तर, उक्त प्रक्रियामा सहभागी नभएको देउवा पक्षले पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा १५औँ महाधिवेशन तयारी समिति गठन गरी बिहीबारबाट छुट्टै वडा अधिवेशन थालेको छ।
देउवा पक्षको वडा अधिवेशन र अनुशासन समितिको चेतावनी
निवर्तमान सभापति देउवाको संरक्षणमा सुरु भएको भनिएको वडा अधिवेशन बिहीबार रसुवा बाहेकका ७६ जिल्लामा प्रारम्भ भएको देउवा पक्षले दाबी गरेको छ। अधिवेशन गराउने जिम्मेवारी पाएका केन्द्रीय निर्वाचन अधिकृत एकराज पोखरेलका अनुसार देशभरबाट प्राप्त रिपोर्टिङका आधारमा तीन हजार पाँच सयभन्दा बढी वडामा अधिवेशन भएको छ। उनले दुई दिनभित्र बाँकी वडामा पनि अधिवेशन सम्पन्न हुने जानकारी दिएका छन्। देशभरका कुल ६ हजार ७४३ वडामा अधिवेशन गर्ने देउवा पक्षको लक्ष्य छ।
आफ्नो पक्षको अधिवेशनलाई उत्साहजनक बनाउन निवर्तमान सभापति देउवाले बिहीबार एक अपिलसमेत जारी गरेका छन्। उनले झण्डै आठ दशक लामो इतिहास बोकेको पार्टीका लागि यो अधिवेशन अत्यन्तै महत्त्वपूर्ण रहेको उल्लेख गर्दै लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र विधिको शासनका लागि पार्टीले गरेको त्यागलाई थप मजबुत बनाउन नेता-कार्यकर्तालाई आह्वान गरेका छन्। देउवा पक्षले असोज २० गते गाउँ/नगर, असोज २३ गते प्रदेश र प्रतिनिधिसभा निर्वाचन क्षेत्र, कात्तिक १५ गते जिल्ला, मंसिर ४ गते प्रदेश र आगामी मंसिर २१ देखि २३ गतेसम्म काठमाडौँमा केन्द्रीय महाधिवेशन गर्नेगरी निर्वाचन आयोगमा समेत कार्यतालिका बुझाइसकेको छ।
देउवा पक्षको यो अधिवेशनमा विधानको विगतको व्यवस्थालाई नै निरन्तरता दिइएको छ, जसअनुसार पदाधिकारी तथा केन्द्रीय सदस्यहरू स्वतः महाधिवेशन प्रतिनिधि हुनेछन्। जब कि, गगन थापा पक्षले जुनसुकै तहका नेता पनि वडा तहबाटै निर्वाचित भएर आउनुपर्ने बाध्यात्मक व्यवस्था लागू गरेको दाबी गरेको छ।
यसैबीच, पार्टीभित्र समानान्तर गतिविधि बढेपछि कांग्रेसको केन्द्रीय अनुशासन समितिले कडा चेतावनी दिएको छ। समितिका कार्यवाहक संयोजक रमेश धमलाले पार्टीका पदाधिकारी, निर्वाचित प्रतिनिधि र क्रियाशील सदस्यहरूलाई पार्टीको हित र मर्यादाविपरीतका गतिविधिमा संलग्न नहुन आग्रह गरेका छन्। १५औँ महाधिवेशनको निर्वाचन प्रक्रियामा सहभागी भइसकेपछि पनि कतिपय व्यक्ति कांग्रेसकै नाममा पार्टीविरोधी गतिविधिमा लागेको सूचना प्राप्त भएको भन्दै समितिले त्यस्ता गतिविधिमा संलग्न हुनेहरूलाई कारबाही गर्ने चेतावनी दिएको छ।
अलमलले कमजोर बन्दै ‘तेस्रो धार’
कांग्रेसभित्रको यो ध्रुवीकरणमा सबैभन्दा बढी नोक्सानी ‘तेस्रो धार’लाई भएको छ। कांग्रेस पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता डा. शेखर कोइरालाले निर्माण गरेको भनिएको तेस्रो धार यतिबेला निकै कमजोर अवस्थामा पुगेको राजनीतिक विश्लेषकहरूको बुझाइ छ। उनीहरू दुवै जनाले हालसम्म कतै पनि महाधिवेशनमा सहभागिता नजनाउने अडान राखेका छन्। तर, नेताहरूले उपयुक्त निर्णय लिन नसक्दा उनीहरू पक्षका अधिकांश नेता-कार्यकर्ता कि त गगन थापा पक्षमा खुलेका छन्, कि त देउवा पक्षमा समाहित भएका छन्।
पार्टीमा आफ्नो छुट्टै अस्तित्व स्थापित गर्दै आएका डा. शेखर कोइरालाको भूमिकालाई लिएर यतिबेला गम्भीर प्रश्न उब्जिएको छ। उनी आफू कतै नखुल्ने तर आफ्ना समर्थक नेताहरूलाई भने देउवा पक्षको वडा अधिवेशनमा सहभागी हुन संकेत गर्ने गरेको आरोप लागेको छ। उनीनिकट नेताहरूका अनुसार बिहीबारबाट सुरु भएको वडा अधिवेशनमा शेखर पक्षका केही नेताहरू सहभागी भएका छन्। कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीका अनुसार डा. कोइराला र देउवाबीच निरन्तर संवाद भइरहेको छ। डा. कोइरालाले गगन थापासमक्ष एकताको महाधिवेशनको प्रस्ताव राखेको तर थापा पक्ष एकलौटी रूपमा अघि बढेपछि उनी मौन बसेको कार्कीको भनाइ छ।
तर, डा. कोइरालाको यो ‘बीचको बाटो’ उनकै लागि प्रत्युत्पादक बन्दै गएको छ। उनको साथ छाडेर उपसभापति धनराज गुरुङसहितका प्रभावशाली नेताहरू गगन थापाको पक्षमा उभिएका छन् भने कोइराला परिवारकै अन्य नेताहरूले पनि आ-आफ्नो बाटो रोजेका छन्। यता, पूर्वसभापति देउवाका अत्यन्तै विश्वासपात्र मानिने पूर्णबहादुर खड्का पनि मौन अवस्थामा रहेका छन्।
विशेष महाधिवेशनको वैधानिकतालाई चुनौती दिँदै अदालत पुगेका खड्का हाल अदालतमा मुद्दा विचाराधीन रहेकाले नैतिक रूपमा कुनै पनि महाधिवेशनमा नजाने अडानमा रहेका छन्। उनीनिकट नेता मीन विश्वकर्माका अनुसार पार्टी एकताका लागि गम्भीर रहेका खड्का अदालतको अन्तिम फैसला कुरेर बसेका छन्। तर, उनले पनि आफ्ना कार्यकर्तालाई रोक्न नसक्दा धेरैजसो नेता गगन पक्षतिरै खुलेका छन्। उपसभापति पुष्पा भुसालले शीर्ष नेताहरूले अलमलमा पर्नुभन्दा आफ्नो निर्णयमा अडिग रहनुपर्ने वा अरूलाई बाधा गर्न नहुने भन्दै उनीहरूको भूमिकाप्रति असन्तुष्टि जनाएकी छन्।