उजुरी पर्दैमा कोही दोषी हुँदैन, प्रारम्भिक तथ्य जाँचपछि मात्र कानुनी प्रक्रिया अघि बढाउनुपर्छ: सांसद श्रद्धा कुँवर

उजुरी पर्दैमा कोही दोषी हुँदैन, प्रारम्भिक तथ्य जाँचपछि मात्र कानुनी प्रक्रिया अघि बढाउनुपर्छ: सांसद श्रद्धा कुँवर

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद श्रद्धा कुँवर क्षेत्रीले कुनै व्यक्तिविरुद्ध उजुरी पर्दैमा उक्त व्यक्ति दोषी नहुने भन्दै उजुरीको प्रारम्भिक तथ्य जाँच गरेपछि मात्र कानुनी प्रक्रिया अघि बढाउनुपर्ने बताएकी छन्।

प्रतिनिधिसभाको असोज १५ गते (बिहीबार) बसेको बैठकमा बोल्दै सांसद क्षेत्रीले उजुरी गर्न पाउनु नागरिकको अधिकार भए तापनि वास्तविक उजुरीकर्ताको संरक्षण गर्ने दायित्व राज्यकै भएको स्पष्ट पारिन्। तर, उजुरी परेको आधारमा मात्रै व्यक्तिलाई दोषी ठहर गर्ने प्रवृत्ति पछिल्लो समय बढ्दै गएकोप्रति उनले चिन्ता व्यक्त गरेकी छन्।

संविधानले कसुर प्रमाणित नभएसम्म व्यक्तिलाई निर्दोष मान्ने सर्वमान्य सिद्धान्त सुनिश्चित गरेको उल्लेख गर्दै उनले व्यवहारमा भने आधारहीन उजुरीकै भरमा स्पष्टीकरण माग्ने, व्यक्तिको नाम सार्वजनिक गर्ने तथा सामाजिक सञ्जालमार्फत दोषीका रूपमा प्रस्तुत गर्ने गलत परिपाटी देखिएको बताइन्।

छानबिनका क्रममा आरोप पुष्टि नभएमा त्यसबाट सम्बन्धित व्यक्तिको पेसा, प्रतिष्ठा र परिवारमा पुग्ने गम्भीर क्षतिको जिम्मेवारी कसले लिने भन्दै उनले संसद्मा प्रश्नसमेत उठाएकी छन्। सांसद क्षेत्रीले मुलुकी देवानी तथा फौजदारी संहिता र भ्रष्टाचारसम्बन्धी कानुनमा झुटा तथा बदनियतपूर्ण उजुरीसम्बन्धी व्यवस्था भए तापनि त्यसमा तोकिएको अधिकतम पाँच हजार रुपैयाँसम्मको जरिवाना निकै न्यून रहेको औँल्याइन्।

कुनै पनि निकायमा उजुरी परेपछि त्यसको तथ्यमा आधारित भएर प्रारम्भिक परीक्षण गरिनुपर्ने र आरोपमा पर्याप्त आधार देखिएमा मात्र निष्पक्ष रूपमा अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउनुपर्नेमा उनले जोड दिएकी छन्। साथै, कसैलाई चरित्रहत्या वा बदनाम गर्ने बदनियतपूर्ण उद्देश्यले झुटा तथा आधारहीन उजुरी दिने व्यक्तिलाई समेत कानुनी दायरामा ल्याउने व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयन गरिनुपर्ने माग उनले गरेकी छन्।

छुटाउनुभयो कि ?