काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहको संसदमा अनुपस्थितिलाई लिएर आपत्ती जनाएको छ। बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस सांसद भीष्मराज आङदेम्बेले प्रधानमन्त्री शाहको संसदमा अनुपस्थितिलाई लिएर प्रश्न उठाएका हुन्।
आङदेम्बेले संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर फर्किएपछि प्रधानमन्त्रीले महासभामा भएका गतिविधिबारे संसदलाई जानकारी नगराएको भन्दै आपत्ती प्रकट गरे। ‘संयुक्त राष्ट्रसंघको महासभाबाट फर्केर आइसकेपछि त्यहाँ भएका गतिविधिबारे संसदलाई जानकारी गराइएको भए राम्रै हुन्थ्यो। त्यस्तो पनि भएन,’उनले भने।
आङदेम्बेले परम्परा र प्रक्रिया तोड्ने नाममा सरकार आफैं अप्ठ्यारोमा पर्ने अवस्था सिर्जना नगर्न प्रधानमन्त्रीलाई सुझाव दिए। उनका अनुसार लोकतन्त्रमा नियम र प्रक्रिया अरूका लागि मात्रै नभइ सरकारका लागि पनि समान रूपमा लागू हुनुपर्छ। ‘प्रक्रिया अरूका लागि मात्रै होइन,सरकारका लागि पनि समान हुनुपर्छ। किनकि लोकतन्त्रमा नियमको मूल्य त्यतिबेला देखिन्छ,जब त्यो आफ्ना लागि लागू हुन्छ,’उनले भने।
प्रधानमन्त्री संसदमा उपस्थित नहुनुलाई उनले संसदीय मर्यादासँग जोडेर प्रश्न समेत उठाए। प्रमुख प्रतिपक्षी दलका तर्फबाट प्रश्नहरू उठाइरहँदा प्रधानमन्त्रीको संसदमा उपस्थिति नहुनु संसदीय मर्यादा नभएको उनको भनाइ छ। ‘प्रधानमन्त्रीज्यू,संसद तपाईंको अनुकूलतामा चल्ने संस्था होइन। प्रमुख प्रतिपक्षी दलको तर्फबाट प्रश्नहरू राखिरहँदा यो सदनमा प्रधानमन्त्रीको उपस्थिति नहुनु संसदीय मर्यादा पनि हुँदैहोइन,’आङदेम्बेले भने।
उनले संसद चलिरहेका बेला प्रधानमन्त्री कहाँ र के काममा व्यस्त छन् भन्नेबारे सदनलाई जानकारी गराउनुपर्ने मागसमेत गरे। ‘संसद चलिरहँदा प्रधानमन्त्रीज्यू कहाँ ? के काममा व्यस्त हुनुहुन्छ, सदनलाई जानकारी गराउनुपर्दैन ? आफ्नै कार्यकक्षमा हुनुहुन्छ भने त्यो के काम गरिरहनुभएको छ,जसका कारण संसदमा आउन भ्याउनु भएन? त्यो संसदलाई थाहा हुनुपर्छ,’ उनले प्रश्न गरे।
प्रधानमन्त्रीको व्यवहारले संसदीय अभ्यास र नयाँ पुस्तालाई दिइने संसदीय मर्यादाको सन्देशबारे समेत उनले प्रश्न उठाए। ‘मन लाग्दा आउने,बस्ने, नलाग्दा उठेर जाने,के यही हो हामीले विकास गर्न खोजेको संसदीय अभ्यास ? के यही हो नयाँ जेनजी पुस्तालाई सिकाउन खोजेको संसदीय मर्यादाको पाठ ?’ उनले प्रश्न गरे।