काठमाडौँ । संघीय संसदअन्तरगत प्रतिनिधिसभा बैठक बस्दैछ। बैठक बिहीबार बिहान ११ बजेका लागि बोलाइएको संसद् सचिवालयले जनाएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन,न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आठौं वार्षिक प्रतिवेदन २०८३ पेश हुने कार्यसूची छ।
राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन २०८३ पेश गर्ने कार्यसूचीमा उल्लेख छ।
यसैगरी बैठकमा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले कर्मचारी सञ्चय कोष (दशौं संशोधन)विधेयक,२०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।
मन्त्री वाग्लेले नागरिक लगानी कोष (तेस्रो संशोधन)विधेयक २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। भुक्तानी तथा फस्यौट (पहिलो संशोधन) विधेयक २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ।
