गुटबन्दी छाडेर स्थानीय चुनावको तयारीमा जुट्न ओलीको आह्वान

गुटबन्दी छाडेर स्थानीय चुनावको तयारीमा जुट्न ओलीको आह्वान

काठमाडाैं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रका सानातिना मतभेद र असमझदारीलाई छाडेर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा जुट्न कार्यकर्ताहरूलाई निर्देशन दिएका छन्। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका सचिवालय सदस्यहरूसँग आयोजित भर्चुअल बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आन्तरिक एकता सुदृढ बनाउन आग्रह गरे।

पार्टीभित्रका सामान्य असहमति र आलोचनालाई स्वाभाविक रूपमा लिनुपर्नेमा जोड दिँदै उनले भने, ‘शत्रुका लात सहने, तर आफ्ना साथीका बात नसहने काम अब बन्द गरौँ। सानातिना असहमति छाडेर साझा संकल्पका साथ एमाले एकढिक्का भई अघि बढ्नुपर्छ।’

विरोधीहरूले एमाले विभाजित हुने अपेक्षा गरे पनि पार्टी विचार र सङ्गठनका हिसाबले बलियो रहेको ओलीको दाबी छ। कुनै एक निर्वाचनको परिणामबाट निराश हुनु नपर्ने भन्दै उनले भारतकी पूर्वप्रधानमन्त्री इन्दिरा गान्धीको उदाहरण प्रस्तुत गरे। ‘हामी एउटा मोर्चामा मात्र हारेका हौँ, सत्य हाम्रै पक्षमा छ। त्यसैले उच्च आत्मविश्वासका साथ अघि बढ्नुपर्छ,’ उनले भने।

अध्यक्ष ओलीले सूचना प्रविधिको सही उपयोग गर्दै पार्टी विरुद्ध फैलाइएका भ्रमको प्रतिवाद गर्न र सरकार तथा पार्टीका उपलब्धिलाई जनतामाझ लैजानसमेत नेता-कार्यकर्तालाई आग्रह गरे।

कार्यक्रममा एमाले महासचिव शंकर पोखरेलले तेस्रो केन्द्रीय कमिटीका निर्णयहरू निर्देशिकामार्फत छिट्टै तल्लो कमिटीसम्म पठाइने जानकारी दिए। हाललाई सदस्यता नवीकरण रोकिएको र प्राप्त विवरण अभिलेखीकरणको काम असोज मसान्तसम्म सकिने उनले बताए। लगातार तीनवटा बैठकमा अनुपस्थित हुने सदस्यलाई विधानबमोजिम पदमुक्त गरिने र युवाहरूलाई लक्षित गरी सङ्गठन सुदृढीकरणका अभियान चलाइने महासचिव पोखरेलले स्पष्ट पारे।

उक्त भर्चुअल कार्यक्रममा पार्टी उपाध्यक्षहरू रामबहादुर थापा, विष्णुप्रसाद पौडेल तथा सचिवहरू भानुभक्त ढकाल, पद्मा अर्याललगायतका शीर्ष नेताहरूको सहभागिता रहेको थियो।

छुटाउनुभयो कि ?