कांग्रेस नेता महतको स्पष्टोक्ति: विशेष महाधिवेशनको कार्यक्रममा सभापति देउवा सहभागी नहुने

कांग्रेस नेता महतको स्पष्टोक्ति: विशेष महाधिवेशनको कार्यक्रममा सभापति देउवा सहभागी नहुने

काठमाडाैं। नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले विशेष महाधिवेशनबाट चयन भएका पदाधिकारीहरूले गर्ने कुनै पनि कार्यक्रममा पार्टी सभापति शेरबहादुर देउवा सहभागी नहुने स्पष्ट पारेका छन्। गगन थापा नेतृत्वको समूहले आगामी असोज १८ देखि २२ गतेसम्म काठमाडौंमा महाधिवेशन आयोजना गर्दै सभापति देउवालाई प्रमुख अतिथिका रूपमा बोलाउने तयारी गरिरहेका बेला महतको यो भनाइ आएको हो।

आज कास्कीमा आयोजित १५औँ महाधिवेशन तयारी समितिको कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै नेता महतले १४औँ महाधिवेशनबाट निर्वाचित भएका सभापति देउवाले आफ्नै नेतृत्वमा आगामी १५औँ महाधिवेशन सम्पन्न गरी नेतृत्व हस्तान्तरण गर्ने बताए।

‘विशेष अधिवेशनका पदाधिकारीहरूले सभापति देउवा उद्घाटनमा आउनुहुन्छ भन्दै भ्रम फैलाइरहेका छन्,’ महतले भने, ‘१४औँ महाधिवेशनबाट निर्वाचित सभापतिले आफ्नै नेतृत्वमा १५औँ महाधिवेशन गराएर मात्र नेतृत्व हस्तान्तरण गर्नुहुनेछ, यसमा कुनै दुविधा छैन।’

नेता महतले धेरैजसो इमानदार कार्यकर्ता सामाजिक सञ्जालमा सक्रिय नभएका कारण पछिल्लो समय पार्टीभित्र अन्योलजस्तो देखिएको दाबी गरे। देशभरका कार्यकर्ताले देउवा विशेष महाधिवेशनको कार्यक्रममा जान लाग्नुभएको हो कि भनेर चासो र चिन्ता व्यक्त गरिरहेकाले आफूले यो कुरा स्पष्ट पारेको उनको भनाइ थियो।

यस्तै, नेता शशांक कोइरालाले कुनै व्यक्ति विशेषका बारेमा दिएको अभिव्यक्तिलाई सन्दर्भ बाहिर लगेर दुष्प्रचार गरिएको टिप्पणीसमेत महतले गरे।

भोलिदेखि वडा अधिवेशन सुरु हुन लागेको जानकारी दिँदै उनले आफूहरू सधैँ सत्यको पक्षमा उभिने बताए। विशेष महाधिवेशन सम्बन्धी मुद्दा हाल अदालतमा विचाराधीन रहेकाले अदालतबाट न्याय पाउनेमा आफूहरू पूर्ण विश्वस्त रहेको उनले स्पष्ट पारे।

छुटाउनुभयो कि ?