विराटनगर । नेपाली कांग्रेसको मोरङ क्षेत्र नम्बर ६ को क्षेत्रीय अधिवेशनका क्रममा झडप भएको छ । बुधबार सुन्दरहरैचामा आयोजित अधिवेशनमा क्रियाशील सदस्यता सम्बन्धी विषयलाई लिएर झडप भएको हो ।
अधिवेशनमा बुधबार मनोनयन गर्ने कार्यसूची थियो । तर, उद्घाटन नै नहुँदै तोडफोड कुटपिट भएपछि अधिवेशन भाडिएको छ । यो घटनामा नेपाली कांग्रेसका क्षेत्रीय कार्यवाहक सभापति चुमनारायण तबदार र नेता चेतराज रेग्मीलगायतका कार्यकर्ता घाइते भएका छन् । उनीहरू नोबेल मेडिकल कलेजमा भर्ना भएका छन् ।
सहमहामन्त्री डा. डीला संग्रौलामाथि पनि हातपात भएको छ । यसअघि क्रियाशील सदस्य विवादमा वडा अधिवेशन समयमा नै भएको थिएन । मोरङ–६ डा. शेखर कोइरालाको क्षेत्र हो । उनी कांग्रेस महाधिवेशनबाट अलग छन् । तर, अधिवेशनमा बिथोल्न कोइरालानिकट कार्यकर्ता रहेको कांग्रेस संस्थापन पक्षको दाबी छ ।
क्षेत्रीय सभापतिको जिम्मेवारीमा कोइरालानिकट नेता देवराज तामाङ थिए, उनले केन्द्रीय नेतृत्वलाई असहयोग गरेपछि अधिवेशन गर्ने गरेको जिम्मेवारी पूर्वसांसद तबदारलाई दिइएको थियो । बुधबार अधिवेशनस्थलमा तामाङ पनि खटिएका थिए । अधिवेशन सुरु हुनुअघि नै असन्तुष्टले तोडफोड गरेको उनले बताए । तोडफोड गर्ने आफू निकट रहेको भन्ने दाबी गलत रहेको उनले बताए । ‘यहाँ क्रियाशील सदस्यता विवाद थियोे, त्यहीँ विवादमा असन्तुष्ट वडाका प्रतिनिधिले विवाद गरेका हुन्,’ तपाईंनिकटले आक्रमण गरेको दाबी छ नि भन्ने प्रश्नमा उनले भने, ‘त्यो आरोप लगाउनेहरूले पुष्टि गर्नपर्यो ।’
वडा स्तरमा क्रियाशील सदस्यता वितरण तथा अनलाइन फाराम भर्ने क्रममा उठेको विवादका कारण अधिवेशन स्थलमा तनाव बढेको बताइएको छ । प्रत्यक्षदर्शीका अनुसार विवाद उग्र बनेपछि नेता तथा कार्यकर्ताहरूबीच हातपात र तोडफोड भएको थियो । विकसित परिस्थितिलाई साम्य पार्न र विवाद समाधानको प्रयास भइरहेको कांग्रेस नेता रमेशजंग रायमाझीले बताए ।