भोटेकोसी बाढीबारे गठित विशेष समितिको सभापतिको निर्वाचन असोज १४ गते

भोटेकोसी बाढीबारे गठित विशेष समितिको सभापतिको निर्वाचन असोज १४ गते

काठमाडौँ । भोटेकोसी बाढीबारे गठन भएको संसदीय विशेष समितिको सभापतिको निर्वाचन मिति तोकिएको छ । सोमबारको प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद अर्यालले असोज १४ गते दिउँसो २ बजे सभापतिको निर्वाचन हुने जानकारी दिए । 

गएको असोज ५ गते हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोसी–त्रिशूली विपद् संसदीय विशेष समिति गठन भएको थियो । १५ सदस्यीय समितिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का आठजना छन् । समितिमा रास्वपाबाट गणेश पराजुली, निशा डाँगी, अनुष्का श्रेष्ठ, सुजाता तामाङ, धनञ्जय रेग्मी, अचुतम लामिछाने, रविन्द्र पटेल, मिङमा ग्याबु शेर्पा सदस्य छन् । 

प्रतिपक्षी नेपाली कांग्रेसबाट मोहन आचार्य, उर्मिला थपलिया सदस्य छन् । नेकपा (एमाले)बाट पुष्पराज कँडेल र गंगा श्रेष्ठ सदस्य छन् । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद रमेशकुमार मल्ल, श्रम संस्कृति पार्टीका ध्रुवराज राई र राष्ट्रिय प्रजातन्त्र पार्टीकी सरस्वती लामा सदस्य छन् । 

समितिलाई नौबुँदे कार्यादेश दिइए पनि सभापति घोषणा भएको थिएन । नेताहरूका अनुसार, रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीलाई सभापति बनाउने सहमति भएको थियो ।

छुटाउनुभयो कि ?