काठमाडौँ । नारायणगढ–मुग्लिन सडकखण्डमा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । बिहीबार (असोज ८) जिल्ला प्रशासन कार्यालय चितवनले सम्भावित जोखिमलाई मध्यनजर गर्दै यस्तो निर्णय लिइएको जानकारी गराएको छ ।
बिहीबार बेलुका ८ देखि शुक्रबार (असोज ९) बिहान ५ बजेसम्म नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चल्ने सम्पूर्ण सवारीसाधनको आवागमनमा पूर्ण रूपमा रोक लगाइएको सूचनामा उल्लेख छ ।
“...विपद्जन्य जोखिम उत्पन्न हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै यात्रु तथा सवारीसाधनको सुरक्षा सुनिश्चित गर्न मिति २०८३।०६।०८ गते बेलुका ८ः०० बजेदेखि मिति २०८३।०६।०९ गते बिहान ५ः०० बजेसम्म नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चल्ने सम्पूर्ण सवारीसाधनको आवागमनमा पूर्ण रूपमा रोक लगाइएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,” स्थानीय प्रशासनले भनेको छ ।
हाल चितवन र आसपासका क्षेत्रमा निरन्तर वर्षा भइरहेको सूचनामा उल्लेख छ । “साथै, यात्रु तथा सवारीसाधन चालकहरूले मौसम तथा सडकको अवस्था बुझेर मात्र यात्रा गर्न, जोखिमयुक्त स्थानमा नजान र सम्बन्धित निकायबाट जारी हुने सुरक्षा निर्देशनको पूर्ण पालना गर्न अनुरोध गरिन्छ,” सूचनामा उल्लेख छ ।