काठमाडौँ । मंगलबार सेयर बजार सामान्य अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक ७.०६ अंकले बढेर २६५४.२८ विन्दुमा पुगेको हो।
अघिल्लो दिन सोमबार ७२ वटा ब्रोकर कम्पनीको कारोबार व्यवस्थापन प्रणाली (टिएमएस) को ब्याकअप राखिएको डेटा हब प्रालिको डेटा सेन्टरमा प्राविधिक समस्या आएपछि कारोबार स्थगित भएको थियो।
यसदिन २५६ वटा स्क्रिप्सको २ करोड १५ लाख ८९ हजार ७६१ कित्ता सेयर ७ अर्ब ५ करोड ३ लाख ९८ हजार ६२४ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये १३७ वटा स्टक्सको मूल्य बढ्दा १३१ वटाको घट्यो। बाँकी ११ वटा स्टक्सको मूल्य भने स्थिर रह्यो।
सामान्य अंकले बढेको सेयर बजारमा मिड सोलु हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। फस्ट माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्थाको सेयर ७ .७५ प्रतिशतले बढ्दा मैलुङ्ग खोला जल विद्युतको सेयर ५.६३ले बढ्यो।
४४ करोड बराबरको सेयर कारोबार गरी हाथवे इन्भेष्टमेन्ट नेपाल शीर्ष स्थानमा रह्यो। हिमालयन डिष्टिलरी लिमिटेडले ४० करोडको कारोबार गर्दा घलेमादी हाइड्रोपावरले २२ करोड,लिवर्टी इनर्जीले १९ करोड र कुमारी बैंकले १८ करोडको कारोबार गरे। यसदिन स्नो रिभर्सको सेयर ८.२३ प्रतिशतले घट्यो।
सातवटा समूहको उपसूचक बढ्दा ६ समूहको उपसूचक नकारात्मक देखिए। बैंकिङ,डेभलपमेन्ट,होटल्स एण्ड टुरिजम,इन्भेस्टमेन्ट,लाइफ इन्स्योरेन्स,माइक्रोफाइनान्स र अदर्श समूहको उपसूचक सकारात्मक देखिँदा बाँकी समूहको उपसूचक नकारात्मक देखिएका हुन्।