काठमाडौं। सरकारले नेपाल विद्युत् प्राधिकरणको रिक्त कार्यकारी निर्देशक पदमा दीर्घायु कुमार श्रेष्ठलाई नियुक्त गरेको छ। मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले श्रेष्ठलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।
बैठकले सहसचिव रुद्रसिंह तामाङलाई राजपत्राङ्कित विशिष्ट श्रेणी (सचिव) पदमा बढुवा गर्ने निर्णयसमेत गरेको छ।
यसैगरी, मन्त्रिपरिषद् बैठकले नेपाल नागरिकता (पाँचौँ संशोधन) नियमावली, २०८३ स्वीकृत गरेको छ।
साथै, साविकमा कृषि, वन तथा पर्यावरण मन्त्रालयअन्तर्गत रहेको नेपाल मौसम विज्ञान विभागलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत रहने गरी नेपाल सरकार (कार्य विभाजन) नियमावली, २०८३ संशोधन गर्ने निर्णयसमेत बैठकले गरेको प्रवक्ता पोखरेलले बताए।