काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगन थापाले गत वर्षको असहज परिस्थितिबाट गुज्रिएर पार्टीलाई पुनः लयमा फर्काउन र एकीकृत बनाउन निरन्तर प्रयास भइरहेको बताएका छन्। बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै सभापति थापाले १४ औँ महाधिवेशन र विशेष महाधिवेशनबाट आएका नेता तथा सदस्यहरूलाई समेटेर अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे।
बैठकमा भदौ २८ गतेको कार्यसम्पादन समितिको निर्णयअनुसार पहिलोपटक सहभागी भएका केन्द्रीय सदस्यहरूलाई स्वागत गर्दै उनले विगतका अकल्पनीय घटनाहरूले पार्टी र देशको राजनीतिमा गहिरो प्रभाव पारेको उल्लेख गरे। जननिर्वाचित सरकार हट्नु, संसद् भवन ध्वस्त हुनु र नेताहरूमाथि भौतिक आक्रमण हुनुजस्ता घटनाले पुराना राजनीतिक दलहरूको कार्यशैलीमाथि प्रश्न उठाएको बताउँदै उनले कांग्रेसलाई पुनः नयाँ शिराबाट उठाएर बलियो बनाउन लागिपरेको दाबी गरे।
पार्टीभित्रको आन्तरिक एकता प्रवर्द्धन गर्ने सन्दर्भमा नेता डा. शेखर कोइराला र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग भएको संवादबारे जानकारी गराउँदै सभापति थापाले भने, "पार्टीभित्र बृहत्तर एकता निर्माण गर्न र आगामी १५ औँ महाधिवेशनलाई व्यवस्थित बनाउन हामी गम्भीर छौँ। डा. शेखर कोइरालाले अगाडि सार्नुभएको उच्चस्तरीय संयन्त्र बनाउने, छानबिन तथा निर्वाचन समितिमा सबै पक्षलाई समेट्ने र क्रियाशील सदस्यता अद्यावधिक गर्नेलगायतका ५ बुँदे प्रस्तावलाई पार्टीको हितमा शतप्रतिशत स्वीकार गरिसकेका छौँ।"
कम्युनिष्टलगायत अन्य दलहरूको जनमत पनि घटेको वर्तमान राजनीतिक यथार्थ औँल्याउँदै सभापति थापाले पार्टीभित्रको असहमतिलाई स्वाभाविक रूपमा लिनुपर्ने बताए। वैचारिक भिन्नता र चुनौतीलाई चिर्दै कांग्रेसलाई एकताबद्ध बनाएर लैजान र राष्ट्रिय मुद्दाहरूमा स्पष्ट दृष्टिकोणका साथ उभिन उनले सम्पूर्ण नेता-कार्यकर्तालाई जिम्मेवार बन्न आग्रह गरे।