काठमाडौं। नेपाली कांग्रेसले आसन्न १५ औँ महाधिवेशनमा पार्टीका सबै तहका नेता–कार्यकर्तालाई सहभागी गराउन अन्तिम समयसम्म पहल जारी राख्ने जनाएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकबारे जानकारी दिँदै प्रवक्ता देवराज चालिसेले कुनै पनि अग्रज नेता महाधिवेशनबाट नछुटून् भन्ने उद्देश्यले पार्टीले निरन्तर संवाद गरिरहेको बताए।
उनका अनुसार पूर्वसभापति शेरबहादुर देउवासहित शेखर कोइराला, विमलेन्द्र निधि, शशांक कोइरालालगायतका नेताहरूलाई महाधिवेशनमा ऐक्यबद्ध गराउन प्रयास भइरहेको छ। पूर्वसभापति देउवालाई महाधिवेशन उद्घाटनका लागि विशेष अनुरोध गर्ने तयारीसमेत भइरहेको उनले जानकारी दिए।
पार्टीभित्रका असन्तुष्टि र फरक मतलाई छलफलमार्फत नै सम्बोधन गर्दै सबैलाई सहभागी हुने अनुकूल वातावरण बनाइएको प्रवक्ता चालिसेको भनाइ छ। "लोकतन्त्रमा फरक मत हुनु स्वाभाविक हो, तर त्यसलाई मतमा बदल्नुपर्छ," उनले भने, "हामी छलफल गर्छौँ, मतभेद राख्छौँ र अन्ततः एक भएर अघि बढ्छौँ। यही नै नेपाली कांग्रेसको ऐतिहासिक विशेषता हो।"
पार्टीमा विभाजन नभई असन्तुष्टि मात्र रहेको स्पष्ट पार्दै उनले १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूलाई यसपटक पनि केन्द्रीय सदस्यकै हैसियतमा सहभागी हुने व्यवस्था मिलाइएको बताए। विभिन्न नेताहरूबाट प्राप्त पाँचबुँदे र आठबुँदेजस्ता प्रस्ताव तथा सुझावलाई सम्बोधन गर्न केन्द्रीय कार्यसमिति र केन्द्रीय कार्यसम्पादन समितिले भदौ २८ गते विभिन्न निर्णय गरिसकेको उनले उल्लेख गरे।
वडा अधिवेशन सुरु हुन लागेको सन्दर्भमा देशभरका नेता–कार्यकर्तालाई उत्साहपूर्वक सहभागी हुन आह्वान गर्दै प्रवक्ता चालिसेले महाधिवेशनको पूर्वसन्ध्यामा पार्टीको थप एक बैठक बस्ने जानकारी दिए।