क्यानबेरा । अष्ट्रेलिया सरकारले देशमा बढ्दो आप्रवासन नियन्त्रण गर्न अन्तर्राष्ट्रिय विद्यार्थीका परिवारका सदस्यहरूमाथि भिसा प्रतिबन्ध लगाउने घोषणा गरेको छ। गृह मामिलामन्त्री टोनी बर्कले राष्ट्रिय प्रेस क्लबलाई सम्बोधन गर्दै आप्रवासन नियन्त्रण तथा परिवर्तन नीतिअन्तर्गत नयाँ नियम लागु गरिएको पुष्टि गरे।
नयाँ घोषणाअनुसार चालू आर्थिक वर्षमा शुद्ध विदेशी आप्रवासन २ लाख ४५ हजार र सन् २०२७-२८ सम्ममा २ लाख २५ हजारमा झार्ने लक्ष्य राखिएको छ। अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्सको नयाँ तथ्याङ्कअनुसार गत मार्चमा शुद्ध विदेशी आप्रवासनले राष्ट्रिय जनसङ्ख्यामा २ लाख ९२ हजार १०० मानिस थपेको थियो, जुन अघिल्लो वर्ष ३ लाख ९ हजार ५०० थियो।
गृह मन्त्री बर्कका अनुसार अष्ट्रेलियामा अध्ययनरत अन्तर्राष्ट्रिय विद्यार्थीले अब स्वचालित रूपमा आफ्नो परिवारका सदस्य ल्याउन पाउने छैनन्। सन् २०२५-२६ मा प्रवाह गरिएका ३ लाख ३७ हजार ४२७ विद्यार्थी भिसामध्ये ४५ हजार ९९१ वटा भिसा आश्रित वा परिवारका सदस्यका लागि जारी गरिएको थियो। यद्यपि, पहिले नै परिवार संलग्न गरिसकेका, पिएचडी (PhD) अध्ययनरत तथा प्यासिफिक र आसियान राष्ट्रका विद्यार्थीलाई यो नियममा छुट दिइएको छ।
भिसा अवधि सकिएपछि पनि अष्ट्रेलियामै बस्ने, अस्थायी भिसा परिवर्तनको प्रयास गर्ने र भिसा प्रणालीको दुरुपयोग गर्नेमाथि कडा कारबाही गरिनेछ। भिसा अवधि सकिएकाहरूलाई देश छोड्न सुनिश्चित गराउन १०० जना नयाँ अनुगमन अधिकारी नियुक्त गरिने भएको छ। मन्त्री बर्कले भने, "यदि तपाईँ अस्थायी रूपमा आउन चाहनुहुन्छ भने अस्थायी र स्थायी रूपमा आउन चाहनुहुन्छ भने स्थायी भिसाका लागि आवेदन दिनुहोस्। वैध भिसा नभएकाहरूले अस्ट्रेलिया छोड्नुपर्छ।"
यसैगरी निर्माण र कृषिसहित आवश्यक क्षेत्रमा सीप भएका आप्रवासीलाई प्राथमिकता दिन कुशल श्रमिक भिसा प्रणालीमा संशोधन गरिनेछ। बाह्र महिनाको कार्य तथा छुट्टी (Work and Holiday) भिसामा आएका आगन्तुकहरूले ८८ दिनको क्षेत्रीय काम र थप छ महिनाको काम पूरा गरेमा दोस्रो वर्षको भिसा पाउने व्यवस्थामा पनि आवश्यक सुधार गरिने जनाइएको छ।